कथा हालेर मेलम्चीको पानी काठमाडौँ पुग्दैन : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
अध्यक्ष ओलीले मुहान सफा गरेर वा अन्यत्र सारेर भएपनि सरकारले काठमाडौँवासीका लागि सो पानीको व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने बताएका हुन् ।
पार्टीको झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राको क्रममा आइतबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंमा पुग्ने अवस्था नै नहुने दाबी समेत गरे ।
त्यस अवसरमा अध्यक्ष ओलीले जनतालाई निराश नहुन पनि आग्रह गरे । एमालेले देशलाई बिग्रन नदिने भएकाले कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाई थियो ।
अध्यक्ष ओलीले भने ‘यस यात्राको क्रममा अहिलेसम्म लाखौँ जनताको सहभागिता, आत्मीयता, माया, स्नेह, सम्मान हामीले प्राप्त गर्यौँ । मैले मालाहरू हेरेँ । म यहाँहरूलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु । यस ठाउँको विकास, निर्माणको कुरा हामीलाई थाहा छ । मेलम्ची आयोजनाको कुरा हामीलाई थाहा छ । नेकपा एमालेको सरकार हुँदैन थियो भने मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन । हामी यसलाई तुरुन्तै सफा गरेर हेडलाई सार्नुपर्ने सार्नुप¥यो, यसमा कथा हालेर हुन्छ ? सार्न पर्ने हो भने सार्ने । नसार्ने हो भने त्यसलाई तयार पार्ने । मर्मत, सम्भार जे गर्नुपर्छ गर्ने । त्यस ढंगले जाने । र, जहाँ पानी पस्ने मुलगेट । त्यसलाई कतिबेर बन्द गर्ने, कतिबेर खोल्ने भन्ने कुरा पनि सञ्चालकहरूले थाहा पाउनुपर्यो । तर खाना बनाउनेहरू, तरकारी केलाउनेहरू दाजुभाइ दिदीबहिनीहरू पनि यस यात्रामा सरिक हुनुहुन्छ । दुनियाँमा यति सफलताका साथ कहीँ पनि भएको देखिँदैन । र, हाम्रो पार्टीले पनि त्यत्तिकै सफलताका साथ काम गरेको छ । म तपाईँहरूलाई भन्न चाहन्छु–तपाईँहरू निराश हुनुपर्दैन अहिलेको अवस्था हेरेर । यस्ता सरकारहरू आउँछन्, जान्छन् । गठबन्धनहरू बन्छन, भत्किन्छन् । कुनै ठूलो कुरा होइन । तर हामी हाम्रो देश बिग्रन दिँदैनौँ । हाम्रो देश अहिले ओरालो लागेको छ । यसलाई रोक्छौँ । र, फेरि सकारात्मक बाटोमा फर्काउँछौँ । तपाईँहरू ढुक्क भएर अगाडि बढ्नु भए हुन्छ । किनभने यस देशमा नेकपा एमाले छ । समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई आफ्नो गन्तव्य बनाएर हिँडेको नेकपा एमाले छ । यहाँको विकास, निर्माण हामीले बुझेका छौं ।’
अध्यक्ष ओलीले पार्टीको संकल्प यात्राको क्रममा लाखौँ जनताको साथ, माया र सम्मान पाएको भन्दै आभार समेत व्यक्त गरे । यात्राको क्रममा सोमवार (भोलि) उनले दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
तस्बिरहरू :









