वकिल सम्मेलनमा जाँदा आइतबार पनि सन्दीपको मुद्दामा सुनुवाई भएन

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा स्थगित गरिएको छ ।
चितवनमा नेपाल बार एसोसिएसनको सम्मेलनका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि कानुन व्यवसायीको तर्फबाट मुद्दा स्थगित गरिएको हो ।
लामिछानेविरुद्धको मुद्दा आइतबार न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पेसी तोकिएको थियो ।
अन्तिम सुनुवाइका लागि पेसी तोकिएकोमा शम्भु थापा लगायतका कानुन व्यवसायीहरू उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गराइएको लामिछानेका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले जनकारी दिए ।
यसअघि पटक–पटक स्थगित हुँदै आएको पेसी दुबै पक्षले बहस नोट अदालतमा बुझाएपछिको पहिलो पटक पेसीमा चढेको हो ।
गत २३ कातिकमा अदालतले बहस नोट बुझाउन आदेश दिएपछि दुबै पक्षका कानुन व्यवसायीले लिखित रूपमा बहस नोट अदालतसमक्ष प्रस्तुत गरेका थिए ।
सन्दीप लामिछानेको मुद्दामा यसअघि काठमाडौँ जिल्ला अदालतले विभिन्न प्रमाणित कागजातहरू माग गर्दै आएको भएपनि गत २३ कातिकमा भने बहस नोट माग गरेको हो । विभिन्न बहानामा पटक–पटक स्थगित हुँदै आएको मुद्दामा न्यायाधीश केशव घिमीरेको इजलासले गत २३ कात्तिकमा दुबै पक्षलाई २२ मंसिर भित्र बहस नोट अदालतमा बुझाउन आदेश दिएको थयो ।
जिल्ला अदालत काठमाडौँमा विचाराधीन मुद्दा लामो समयदेखि चलिरहेको छ ।
गत वर्षको १५ फागुनमा नै सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिँदा न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) तथा निरन्तर सुनुवाइ ण्कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो । तर उक्त आदेश दिएको ९ महिना बितिसक्दा समेत मुद्दाले किनारा पाउन सकेको छैन ।








