धनगढी र इलामको रोमाञ्चक बराबरी, धनगढी शीर्ष स्थानमा

काठमाडौँ । नेपाल सुपर लिग एनएसएल अन्तर्गत शनिबार धनगढी एफसी र स्पोर्टिङ इलामले बराबरी खेलेका छन् ।

पहिलो हाफमा २–० ले पछि परेको स्थितीलाई उल्ट्याउँदै धनगढीले इलामसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेसँगै धनगढी शीर्ष स्थानमा फर्किएको छ । पोखरा थन्डर्ससँग अंक बराबरी गरेको धनगढी बढी गोल गरेको आधारमा शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको ४४ औं मिनेटमा फोडे कामाराले गोल गर्दै इलामलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा उमर थियोमले गोल गर्दै इलामको अग्रतालाई दोब्बर बनाएका थिए ।

धनगढीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्‍यो । खेलको ६८ औं मिनेटमा अग्यमङले पेनाल्टीमा गोल गर्दै धनगढीलाई खेलमा फर्काउने संकेत गरेका थिए ।

बेन्चबाट मैदान छिरेका ओलावाले अफिजले हेडमार्फत धनगढीलाई बराबरीमा ल्याएका थिए । ८३ औं मिनेटमा फोफोनाको क्रसमा अफिजले हेडमार्फत सुन्दर गोल गरेका थिए ।

इलामसँग अंक लिँदै धनगढीले ८ अंक जोड्यो । समान अंक भएको पोखरा दोस्रो स्थानमा छ । इलामले तालिकामा ५ अंक जोडेको छ ।

आज हुने दोस्रो खेलमा काठमाडौँ रेजर्स फुटबल क्लब र बुटवल लुम्बिनी फुटबल क्लब खेल्नेछन् ।

खेल साँझ ५ बजे दशरथ रंगशालामानै हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *