मौद्रिक समीक्षाबाट घरजग्गा कारोबार बढ्दैन : अध्यक्ष धमला

काठमाडौं । घरजग्गा व्यवसायीहरूले नेपाल राष्ट्र बैंकले माद्रिक नीतिको समीक्षाबाट घरजग्गा कारोबार क्षेत्रको कर्जामा उदारता देखाए पनि यसले खासै असर नपर्ने बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका विषयमा प्रतिक्रिया दिँदै घरजग्गा व्यवसायीले यस्तो बताएका हुन् ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले मौद्रिक नीतिको समीक्षाले घरजग्गा कारोबारमा खासै परिवर्तन आउन नसक्ने बताए । उनले ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाएर ६० प्रतिशत कायम गर्दैमा कारोबार बढ्ने अपेक्षा गर्न नसकिने बताए ।

उनले काठमाडौं उपत्यकाभित्र जग्गाको मूल्य आनाको ५० देखि ६० लाख रुपैयाँ पर्ने भन्दै एउटा घर किन्न २ देखि साढे दुई करोड रुपैयाँ नभइ नपुग्ने अवस्था रहेको बताए । उनले राष्ट्र बैंकको यसअघिको निर्देशनमा नै दुई करोडको घर खरिद गर्दा चार करोडको आम्दानी हुनुपर्ने भनेकाले यस्तो अवस्थामा अहिलेको ५० लाख र २५ लाखको नीतिले व्यवसायीहरूलाई नछुने जिकिर गरे । उनले मौद्रिक नीतिले जाजरकोटका भूकम्पपीडितहरूका लागि मात्रै यस्तो व्यवस्था गरेको देखिएको बताए ।

उनले समग्र देशको अर्थतन्त्रमा परेको असर हेरेर नीति बनाउन आवश्यक रहेको बताए । घरजग्गा कारोबार अनुत्पादक क्षेत्र भने पनि यो कारोबार बन्द हुँदा दुई सयभन्दा बढी क्षेत्रलाई असर पर्ने देखिएको बताए । उनले घरजग्गा कारोबार बन्द हुँदा निर्माण सामग्रीहरूको मूल्य समेत क्रमिक रूपमा घटेको बताए ।

राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत रियलइस्टेट कर्जाको जोखिम भार घटाएको छ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियलइस्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको छ ।

राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाएर ६० प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकले यसअघिको ५० प्रतिशतको अनुपातलाई बढाएर ६० प्रतिशत पुर्याएको हो । रियलइस्टेट क्षेत्रको कारोबारको सुस्ततालाई मध्यनजर गर्दै मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कर्जा प्रवाहमा लचकता अपनाएको देखिन्छ ।

व्यवसायीले सरकारलाई लामो समयदेखि घरजग्गा कारोबारलाई सहजीकरण गर्ने विभिन्न व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *