धमाधम पक्राउ परिरहँदा पनि सुन तस्कर थप सक्रिय, पछिल्लो १ सातामा २५ किलो बरामद

काठमाडौं । मंसिर विवाह तथा अन्य शुभ साइतको महिना हो । मंसिरमा अरू बेलाभन्दा सुनको माग धेरै हुने गरेको छ । नेपाली प्रचलनअनुसार हरेक कार्यक्रमका लागि सुन आवश्यक मानिने भएकाले पनि मंसिरमा सुनको खपत बढी हुन्छ । नेपाली महिलाहरूले शृंगारका रूपमा पनि सुनका गहनालाई लिने हुँदा विवाह तथा अन्य शुभसाइतका कार्यक्रमहरूमा सुन चाहिन्छ नै ।

विवाहमा बेहुलीका लागि मात्र नभएर त्यहाँ आउने अन्य महिलाले पनि सुनका गरगहना लगाउने हुँदा लगनको महिनामा सुनको प्रयोग बढी हुने गरेको छ । भोजभतेर, विवाहमा सुन महिलाको प्रमुख चर्चाको विषय बन्ने गर्दछ ।

अहिले बजारमा सुनको माग उच्च छ । मागसँगै मूल्य पनि आकासिएको छ । केही दिनअघि मात्रै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । गत सोमबार सुनको मूल्यले प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँ पुगेको थियो । सुनको माग र मूल्य बढिरहँदा आपूर्ति भने कम छ । अहिले नेपालमा दैनिक २० किलो सुन आयात गर्न पाइन्छ । नेपालमा राष्ट्र बैंकले तोकेको कोटा अनुसारको परिमाणमा मात्रै सुन आयात गर्न पाइन्छ । तर, बजारमा माग भने ३० देखि ३५ किलो रहेको सुनचाँदी व्यवसायीहरू बताउँछन् । अझै मंसिरजस्तो लगनको महिनामा यस्तो माग थप बढ्ने गरेको छ । कोटाभन्दा धेरै सुनको माग भए पनि बजारमा खासै सुन अभाव हुँदैन । अनि कसरी पूर्ति हुन्छ त ? बजार माग धान्न अवैधानिक रूपमा नेपाल भित्र्याइएको सुन प्रयोग हुने गरेको छ । यही मौका छोपेर बजारमा सुन तस्कर सक्रिय हुने गरेका छन् ।

यसलाई पछिल्लो समय समातिएका तस्करीको सुनले अझै बल दिन्छ । पछिल्लो एक सातामा मात्रै करिब २५ किलो तस्करीको सुन बरामद भएको छ । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै १४ किलो सुन बरामद भएको छ । बिहीबार राति दुबईको उडान नं. एफजेड ५७३ बाट आएका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरिएको हो । उनले जिउमै १४ किलोग्राम सुन ल्याएका थिए । उनले ज्याकेटभित्र एउटा कपडामा बनाइएका खल्तीमा दुई-दुई केजीका सातवटा प्याकेट ल्याएका थिए ।

यस्तै, शुक्रबार दिउँसो काठमाडौंको नागढुंगाबाट पनि दुई किलो सुनसहित दुईजना पक्राउ परेका छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबारै रसुवा नाकाबाट आएको दुई किलो अवैध सुनसमेत बरामद गरेको छ । पक्राउ पर्नेहरूमा रसुवाका २१ वर्षीय सुनील भुजेल, २८ वर्षीय ग्याल्छिङ तामाङ र २६ वर्षीय विरु तामाङ रहेका छन् । उनीहरूले गाडीको गियरबक्समा लुकाएर सुन भित्र्याउन लागेका थिए । बरामद सुन र पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको पनि प्रहरीको भनाइ छ । कार्यालयले तीन दिनअघि न्युरोडको सुन पसलमा छापा मारेर झण्डै आठ किलो अवैध सुनसमेत बरामद गरेको थियो ।

केही समयअघि विमानस्थलको सबै सुरक्षा जाँच पार भएर बाहिरिएको ६० किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि भेपमा लुकाएर नौ किलो सुन ल्याएको समेत खुलेको थियो । सुन प्रकरणको अनुसन्धानका लागि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्ली आचार्यको नेतृत्वमा छानविन समिति बनाएको छ । समितिले प्रकरणका आरोपीहरूको अहिले बयान लिइरहेको छ । तर, सुन तस्करी भने अझै नरोकिएको पछिल्ला घटनाहरूले देखाउँछ ।

१० किलो पछ्याउँदा १४ किलो भेटियो : भन्सार प्रमुख
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १० किलो सुनको सूचना पछ्याउँदा १४ किलो सुन बरामद गरेको बताएको छ । १० किलो सुन आउने सूचना पछ्याउँदा बिहीबार राति १४ किलो सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार केहीदिन अगाडि नै दुबईबाट १० किलो सुन आउँदै छ भन्ने सूचना प्राप्त भएको थियो । सूचना दिने व्यक्तिले १० किलो सुन आउँदै छ भनेपछि आफूहरूले निगरानी बढाएको उहाँले बताउनुभयो । सूचना पछ्याउने क्रममा स्वयं प्रमुख प्रशासक पाण्डे सहितको टोली बुधबार रातभर र बिहीबारसमेत रातभर फिल्डमा खटिएको थियो ।

‘उनी विमानबाट ओर्लनेबित्तिकै हामीले वाक थु्रबाट एक्सरेमा ल्यायौँ । सर्टभित्र ज्याकेटजस्तो झोला बनाएर सातवटा बिस्कुटमा दुई किलोको दरले १४ किलो सुन ल्याएका रहेछन्,’ शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘हामीले नियन्त्रणमा लिई सुन ल्याउन सहजीकरण गर्ने र नेपालमा रिसिभ गर्ने व्यक्तिलाई पनि समातेका छौँ । हामीलाई आएको सूचनाका आधारमा बुधबार रातभर खट्दा पनि व्यक्ति र सुन फेला परेन । तर, हामी थाकेनौँ । बिहीबार फेरि हामीले अपरेसन जारी राख्यौँ र म आफैँ फिल्डमा खटिएँ ।’

पाण्डेका अनुसार सुन बोकेर आउने चन्द्र घलेको सूचनाकै आधारमा गोरखाकै मीनबहादुर घलेलाई पनि नियन्त्रणमा लिइएको छ । चन्द्र र मीन दुवैको मोबाइलसमेत बरामद गरी अनुसन्धान भइरहेको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख पाण्डेले तस्करीको सुन विमानमार्फत आउँदै छ भन्ने सूचना आफूलाई केही दिनअघि नै आएको बताउनुभएको छ । सूचनाका आधारमा दुई दिन अघिदेखि आफूहरू परिचालित भएको उहाँले बताउनुभयो ।

छानविन गर्न समिति गठन
विमानस्थलमा बरामद भएको १४ किलो सुनबारे छानविन गर्न समिति बनाएको छ । भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा हुनुहुन्छ । सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ । पक्राउ परेकामाथि अनुसन्धान थालिएको भन्सार कार्यालयका प्रमुख सहसचिव टोकराज पाण्डेले जानकारी गराउनुभयो । -हिमालय टाइम्सबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *