जर्मनी सरकारबाट पाँच अर्ब अनुदान प्राप्त हुँदै

काठमाडौँ । जर्मनी सरकारले करिब रु पाँच अर्ब नौ करोड अनुदान सहायता प्रदान गर्ने भएको छ ।

उक्त सहायता सम्झौतामा हस्ताक्षर गर्न सरकारले अर्थ मन्त्रालयलाई अख्तियारी दिएको छ ।

मन्त्रिपरिषद्को बिहीबारको निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन्।

बैठकले विश्व बैंकबाट प्राप्त हुने करिब रु १३ अर्ब ऋणसम्बन्धी सम्झौताको दस्ताबेजलाई अन्तिमरुप दिन र बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले पोलिटेक्निक इन्स्टिच्युट स्थापना र रासायनिक मल खरिदका लागि साउदी अरबबाट प्राप्त हुने २० लाख अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिइन् ।

भारत सरकारको अनुदान सहायतामा सञ्चालन हुने ‘हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट’ कार्यान्वयनका लागि अनुदान सहायता स्वीकार गर्ने र कैलालीको त्रिनगर र कपिलवस्तुको सुठौली नाकामा बिरुवा वा बिरुवाजन्य उपज निकासी वा पैठारी गर्दा जाँच वा उपचार गर्न क्वारेन्टिन ‘चेकपोस्ट’ स्थापना गर्ने निर्णय सरकारले गरेको छ ।

यसैगरी बैठकले खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतम तथा सदस्यमा यशोदा कार्की र कुलभूषण शेखर शर्मालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्ले आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना, २०८० स्वीकृत गर्नाका साथै राष्ट्रिय बीमा नीति, २०८० स्वीकृत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *