तथ्यहीन भ्रम फैलाउनेलाई कारबाही गर्न एनसेल कर्मचारी ट्रेड युनियनको माग

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडमा क्रियाशील रहेको एनसेल कर्मचारी ट्रेड युनियन (NETU) ले कुनै पनि कम्पनीको शेयर खरिद बिक्री हुनु सामान्य प्रक्रिया भएको बताएको छ ।

शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

उक्त विज्ञप्तिमा एनसेल एक बहुराष्ट्रिय कम्पनी भएको हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास बमोजिम कारोबार हुनु स्वाभाविक नै भएको उल्लेख गरिएको छ ।

ट्रेड युनियन युनियनले नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र समेत भएको हुँदा नेपालमा स्थापित बहुराष्ट्रिय कम्पनीका हकमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधि विधान आकर्षित हुने सो को पूर्ण रूपमा परिपालना हुनुपर्छ भन्नेमा ट्रेड युनियन स्पष्ट रहेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा उल्लेख गरिएको छ ‘एनसेल एक नेपाली पब्लिक लिमिटेड कम्पनीका रूपमा यथावत् छ । यो शेयर खरिद बिक्री प्रक्रियाले कम्पनीको दैनिक कार्यसम्पादन तथा सेवा सञ्चालनमा कुनै फरक पारेको छैन । कम्पनीले प्रवाह गर्ने अत्यावश्यक दूरसञ्चार सेवाहरू निरन्तर सञ्चालनमा रहेका छन् र हामी कर्तव्यनिष्ठ कर्मचारीका नाताले ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रवाह गरिरहन प्रतिबद्ध छौं । कम्पनीमा स्पेक्ट्रलाइट युके लिमिटेडमार्फत नेपाली मूलका लगानीकर्ता भित्रिएसँगै हामी नयाँ जोस र जागरका साथ अगाडि बढ्ने छौं र नयाँ लगानीकर्ता स्पेक्ट्रलाइट यूकेलाई स्वागत गर्न चाहन्छौं । कम्पनीको शेयर होल्डिङ् परिवर्तनलाई अब एनसेल कम्पनी नै नेपालमा छैन जत्तिकै गरि कम्पनीकै व्यावसायिक छविमाथि आँच आउने गरि भएकारगरिएका प्रचारबाजी प्रति सजग रहन एनसेलका सम्पूर्ण ग्राहकहरू, व्यावसायिक साझेदारहरू तथा आम नेपाली जनताहरूलाई आर्दिक अपिल गर्दछौँ ।’

विज्ञप्तिमा विगतमा पनि यस कम्पनीको शेयर स्वामित्व परिवर्तन भएको नेपालको कानुन बमोजिम तिर्नु बुझाउनु पर्ने कर तथा विभिन्न समयमा सम्मानित अदालतले तोके बमोजिमका कर भुक्तानी गरेको उल्लेख छ ।

नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको एनसेलले स्थापना पश्चात् हालसम्म नेपाल सरकारलाई २ खर्ब ८३ अर्ब भन्दा बढी कर तथा शुल्कहरू भुक्तानी गरि सकेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा देशकै सामाजिक, आर्थिक तथा सञ्चारको क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको कम्पनीलाई कहिल्यै कर नतिर्ने जस्तो भाष्य सिर्जना हुनेभरि बदनाम गर्न खोजिनु खेदपूर्ण भएको उल्लेख गरिएको छ ।

ट्रेड युनियन युनियनले हरेक सरकारी कार्यालयमा एक सूचना अधिकारी तोकिदा पनि सम्बन्धित निकायमा गएर नबुझी, सस्तो लोकप्रियताको लागि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत कम्पनीको छवि नै धमिल्याउने गरि उछितो काड्नु निन्दनीय भएको बताएको छ ।

ट्रेड युनियन युनियनले हालै भएको शेयर खरिद बिक्रीका सम्बन्धमा सरकारले छानबिन समिति गठन गरि सत्यतथ्य छानबिन प्रक्रिया अगाडी बढाई सकेको अवस्थामा पनि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा अनर्गल प्रचारबाजी हुनु छानबिन प्रतिवेदनलाईनै प्रभावित पार्ने दुराशयबाट प्रेरित भएको भनिएको छ ।

ट्रेड युनियन नेपालले आगामी वैशाखमा नेपाल सरकारले आयोजना गर्ने भनिएको लगानी सम्मेलनलाई नै असफल बनाउने उद्देश्य राखी वैदेशिक लगानीलाई निरुत्साहित गर्ने प्रपञ्च प्रति सचेत हुँदै यसखालका तथ्यहीन भ्रम फैलाउने जो कोहीलाई कारबाहीको कठघरामा उभ्याउन सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *