एनसेलको शेयर खरिदबिक्री प्रकरणको अनुसन्धान गर्नैपर्छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय बनेको बताएका छन् ।
बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एनसेलको शेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आएको बताए ।
उनले संसदले एनसेल खरिदबिक्री प्रकरणलाई जिम्मेवारीका साथ चासो लिएर अघि बढाइरहेको बताए ।
उनले संसद बन्द रहेका बेलामा संसदीय समितिमार्फत यस विषयमा छलफल र बहस भइरहेको बताए ।
उनले भने– ‘एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यको र अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आइरहेको छ । जसरी अरुको चासो गइरहेको छ, संसदमा पनि त्यत्तिकै र अझ त्यो भन्दा बढी जिम्मेवारीका साथ चासो लिएर अघि बढेको छ । संसद अहिले स्थगित छ तर संसदीय समितिहरु क्रियाशील रुपमा अघि बढीरहेका छन् । यसमा पनि दुई वटा संसदीय समितिले यसलाई छलफलका विषय बनाएर तुरुन्तै बैठक गरेका छन् । सरकारसँग स्पष्टीकरणका लागि माग गर्ने लगायतका कामहरु संसदीय समितिबाट भइरहेका छन् । सिमहरु नष्ट गर्ने भन्नेकुराहरु सुनियो, यस्तो गर्दा देशको सम्पती पनि क्षति हुनपुग्छ । यी कुरामा विचार गरेर यसको छानबिन, निस्कर्षमा जानुपर्छ । भौतिक क्षति नहुने गरी कार्यक्रम अघि बढाउन जरुरी हुन्छ ।’
सभामुख घिमिरेले अनेरास्ववियुले शेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको बिरोधमा पनि भौतिक क्षति नगरी आन्दोलनका कार्यक्रमहरु अघि बढाउनुपर्ने बताए ।
अनेरास्ववियुले एनसेल शेयर बिक्री प्रकरणको सत्य तथ्य छानबिन गर्न आग्रह गरेको छ ।
खर्बौंको सम्पती रहेको, नियमित रुपमा मुनाफा आर्जन गरिरहेको तथा नेपालकै बैंक तथा वित्तीय संस्थाहरुको अरबौकौ ऋण लगानी समेत भएको कम्पनीको ८० प्रतिशत शेयरलाई नेपाल दूर सञ्चार प्राधिकरणलाई पूर्व जानकारी नगराई बिक्री गर्नुले पुँजीगत लाभ कर लगायत कर छली गर्ने उद्देश्य राखेको देखिएको अनेरास्ववियसको ठहर छ ।








