नेपालीलाई भिजिट भिसामा लगेर गरिन्थ्यो रुसी सेनामा भर्ना, सेना प्रहरीकै लर्को

नेपालीलाई भिजिट भिसामा लगेर गिरोहले रुसी सेनामा भर्ना गराउने गरेको खुलेको छ। काठमाडौंबाट प्रहरीले १२ जनालाई पक्राउ गरेसँगै पठाउने प्रक्रिया पूर्व सैनिकको समेत संलग्नता रहेको खुलेको हो।
यस्तै म्यानपावर कम्पनी र अन्य बिचौलियाको मिलेमतोमा रुस लग्ने गरेको प्रहरीले सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा उदयपुर घर भएका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौँ घर भएका सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौँ– १६ घर भएका रोजल महर्जन, ३१ वर्षीय क्षितिज गिरी र सिराहा घर भएका १९ वर्षीय दिपेन परियार छन् ।
काभ्रे घर भएका सुवास लामा, चितवन घर भएका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुङ्गा घर भएकी सुजता दाहाल, लमजुङ घर भएका ईश्वर अधिकारी र दाङको घोराही उपमहानगर पालिका घर भएका ३८ वर्षीय द्रोणा डाँगीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ गरिएकाहरू दुई समूह हुन् । एउटा समूहको नेतृत्व ओखलढुङ्गा घर भएर गोकर्णेश्वर बस्ने २५ वर्षीय सुजता दाहाल र चितवन घर भएका २५ वर्षीय गोकर्ण अर्यालले गर्दै आएका थिए । अर्को समूहको नेतृत्व हरिबहादुर विश्वकर्मा र ईश्वर अधिकारीले गरेका हुन् ।
आरोपीहरूले भिजिट भिसामा दुबई तथा नेपालबाट भारत हुँदै सडकमार्गबाट भारत लगेर त्यहाँबाट रसिया पठाउने गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष छ।
गिरोहले प्रतिव्यक्ति ७ लाख देखि २० लाखसम्म असुलेको प्रहरीको दाबी छ।
नेपालमा सक्रिय गिरोहलाई रुसमा बस्ने नेपाली नागरिक शोभराज र अनुपले सहयोग गरेको भेटिएको छ। रसियाबाट निमन्त्रणा पत्र र भिजिट भिसा उपलब्ध गराएबापत उनीहरुलाई रकम पठाउने गरेको पनि पाइएको छ।
हरि विश्वकर्माले १८ सय ५० अमेरिकी डलर पठाएको बताएका छन्।सेटिङ मिलाएको र टिकेटिङको लागि शोभराजलाई भारतीय रुपैयाँ २ लाख पठाएको पनि प्रमाण फेला परेको छ।
आरोपीहरूले पठाएको मध्ये ११ जना नेपाल फर्किएका छन्। ५–१० जनाको समूहबाट रसिया पठाउन सुरु गरेका आरोपीहरूमध्ये केही कन्सल्टेनी सञ्चालकहरू पनि छन् ।
केही कन्स्ल्टेन्सीले विज्ञापन नै गरेर रुसी सेनामा भर्ना गर्न भन्दै अन्तर्वार्ता समेत सञ्चालन गरेको खुलेको काठमाडौं प्रहरीले जनाएको छ।
पक्राउ परेका हरि पूर्व सैनिक हुन्। यस्तै उनीहरुको साथबाट ४३ थान पासपोर्ट र नगद समेत बरामद भएको छ। गिरोहका साथमा भेटिएका पासपोर्ट बहालवाला प्रहरीका पनि छन्। उनीहरु पनि भिसा लागेपछि नेपाल प्रहरीबाट राजीनामा दिएर जाने तयारीमा रहेको खुलेको छ।
यस्तै यसअघि रुस पुगेर फर्किएका केही व्यक्ति पनि सशस्त्र प्रहरीको जागिर छाडेर गएको खुलेको छ। रुसी सेनामा पठाउन पूर्व सुरक्षाकर्मीहरुलाई प्राथमिकता दिने गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।








