ग्राउण्ड ह्याण्डलिङ

वायुसेवा निगमका कर्मचारी आन्दोलित, यस्तो छ कारण

काठमाडौँ । नेपाल वायुसेवा निगमका कर्मचारीले खुला प्रतिस्पर्धाका आधारमा ग्राउण्ड ह्याण्डलिङ दिने निर्णयको विरोधमा आन्दोलन सुरु गरेका छन् ।

बुधवारदेखि निगमका कर्मचारी तथा संयुक्त ट्रेड युनियनहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिस्पर्धाका आधारमा नभएर स्वतः नियमले पाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिस्पर्धाबाट दिने निर्णय गरेसँगै ग्राउण्ड ह्याण्डलिङ खुला वायुसेवा निगमले नै पाउनुपर्ने माग राखेका हुन् ।

झन्डै वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी हुँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा निगमले पाउनुपर्ने भन्दै निगमका कर्मचारीले विरोध गरेका हुन् । उनीहरुले प्राधिकरणबाट अडिटका लागि आउने प्राविधिकलाई रोक्ने बताएका छन् ।

युरोपेली युनियन (ईयु) ले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणले बुधवारदेखि तीन दिन विस्तृत अडिट गर्ने तयारी गरेको भन्दै निगमका कर्मचारीहरूले प्राधिकरणका अडिट गर्न आउने कर्मचारीलाई निगममा छिर्न नदिने तयारी गरेको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष तथा निगमका वरिष्ठ अधिकृत रमेशकुमार पाण्डेले प्राधिकरणले युरोपेली युनियन९ईयु०ले दिएको प्रतिवेदनका आधारमा नेपाल वायुसेवा निगमको कारण कालोसूचीबाट नहटेको आरोप लगाउँदै ग्राउण्ड ह्याण्डलिङ निगमबाट खोस्ने उद्देश्यले प्राधिकरणका डिजीले गरेको निर्णय विरुद्ध आन्दोलन सुरुवात गरिएको बताए ।

उनले हवाई माफियाहरूको निर्देशनअनुसार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले नेपाल वायुसेवा निगमले अहिलेसम्म गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्न खोजिएको बताए ।

उनले प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ सम्बन्धी गरेको निर्णय प्राधिकरण र राष्ट्रको हितमा नभएको बताए । उनले निगमले ग्राउण्ड ह्याण्डलिङबाट वार्षिक ४ अर्ब रुपैयाँ आर्जन गर्दै आएको बताए । उनले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप निगमले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवालाई लक्षित गरेर आक्रमण गरेको बताए ।

कर्मचारीहरूले ग्राउण्ड ह्याण्डलिङ खोस्ने निर्णयविरुद्ध चरणबद्ध रुपमा आन्दोलन गर्ने बताएका छन् । उनीहरुले निगम र निगमका कर्मचारीहरूको हितको लागि भएपनि प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ निगमलाई नै दिनुपर्ने बताएका छन् ।

कर्मचारीहरूले ग्राउण्ड ह्याण्डलिङ निगमबाट खोस्ने प्राधिकरणको राष्ट्रघाती निर्णय खारेज गर, निगम मास्ने निर्णय फिर्ता गर,नागरिक उड्डयन प्राधिकरणको दादागिरी बन्द गर, भ्रष्ट क्यानको डिजी राजीनामा दे लगायतका नारा समेत लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *