‘भुटीदिदी’ लाई ७३ वर्षमा नागरिकता

बझाङ । स्थानीय काँडा गाउँका दर्जनबढी ज्येष्ठ नागरिक छन् । उनीहरूमध्ये एकजना अविवाहित महिला हुनुहुन्छ भुटी गुरुङ उर्फ भुटी दिदी ।
हुम्लामा जन्मिएर बुबाआमासँगै साइपाल पुगेकी भुटीदिदीका सात दशक काँडामा लेकबेँसी गर्दै बिते । २००८ सालमा जन्मेकी भुटीदिदीका बाल्यकालबाटै भेडा–च्याङ्ग्रा साथी बने । त्यसपछिका साथी आफ्नै भाइबहिनी, गाउँले भाइबहिनी र उनीहरूका सन्तान भए । यसैमा बित्यो उनको ७३ वर्ष ।
घरको काम, भेडा–च्याङ्ग्रा, गाइवस्तुको गोठ नै उनका लागि संसार बन्यो । यतिसम्म कि उनले विहे गर्नेसमेत समय पाईनन् ।
आजीवन एकल महिला रहेकि भुटीदिदीलाई गत साता जिल्ला प्रशासनले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्योे । जीवनको उत्तरार्द्धमा प्रवेश गरेसँगै मानसिक रोगले थलिएकी भुटीदिदीको भतिज टेक गुरूङको घरमा बस्थिन् ।
गाउँमा तीन पुस्ताले नै उनलाई भुट दिदी भनेर सम्बोधन गर्छन् । उनलाई चिन्नेले पनि भुटीदिदीकै नामले चिन्छन् । धामी, बोहरा, गुरूङ, रोकायालगायत विभिन्न थरका बासिन्दाको बसोवास भएको हुँदा पनि उनी सबैकी भुटी दिदी भएकि हुन् ।
भुटीदिदीले स्वस्थ हुँदा सबैलाई माया गर्ने, सक्दो आफन्तलाई काममा सघाउने र स–साना नानीहरूलाई ‘भदा/भदै’ भन्दै खेलाउने हुँदा गाउँमा उनी सबैकी प्यारी बनेकि गाउँपालिका अध्यक्ष मानविर बोहरा बताउछन् ।
भुटीदिदीले काखमा बोकेका भाइ बहिनीहरू अहिले भने बाजेसम्म भइसकेका छन् । तर, भुटीदिदी भने आफन्तकै नाति नातिनालाई खेलाइरहेकि छिन् । अहिले उनको दैनिकी घरको आँगन र आफ्नो टोलमै बित्ने गरेको छ । उमेरमा घरायसी काममात्रै होइन, कसैको विवाह, व्रतबन्ध हुँदा कामका लागि अग्रस्थानमा रहेकि भुटीदिदी केही वर्षयता भने घरमै थन्किएकि छिन् ।
साइपाल गाउँपालिका–३ काँडाका ज्ञानबहादुर बोहरा भन्छन्, ‘भुटीदिदीलाई गाउँमा सबैले माया गर्छन् । घरायसी काम, भेडा–च्याङ्ग्राको हेरचाहमै जीवन बिताउनुभएकी दिदीलाई विहे गर्ने, घरबार जोड्ने कहिल्यै सोच आएन र यत्तिकै बस्नुभयो ।’ बुढेसकालमा भने विहे नगरेको पछुतो पो भयो कि क्या हो मानसिक समस्या आइलागेको बोहराले बताए ।
भतिज टेकको संरक्षणमा रहेकी भुटीदिदी जीवनभर घरायसी काममै बितेको हुँदा उनलाई विहे गर्न पनि आवश्यक नठानेर अविवाहित नै बसेको टेकले बताए । उनका अनुसार त्यो बेलामा गाउँमा नागरिकताकोे आवश्यकताबारे पनि कसैलाई थाहा थिएन । वि।सं ०६४ सालतिर गाउँमा नागरिकता दिने घुम्ती टोली आएपछि धेरैले नागरिकता पाएको र फुपू गोठालो गएको हुँदा छुटेको उनले सुनाए । ‘उनलाई मात्रै होइन, हामीलाई पनि नागरिकताको बारेमा जानकारी थिएन । पछि घुम्ती शिविरको बेलामा नागरिकता र सरकारी सेवा सुविधाबारे जानकारी भयो त्यसपछि गाउँमा भेटिएकाले नागरिकता बनाएका थिए ।’ उनी भन्छन् ।
भतिज टेकका अनुसार त्यस बेलामा पनि धेरै जनाको नागरिकता बनाउन छुटेको थियो । ‘अहिलेको जस्तो सञ्चार थिएन । त्यसैमा पनि साइपाल गाउँपालिकामा हुने कुरै भएन । नागरिकता दिने टोली गाउँमा आयो । गाउँमा जति भेटिए, उनीहरूले नागरिकता पाए । टेक अहिले फुपूको नागरिकता समयमै नबनाएकोमा पछुतो गर्छन् । ‘त्यसै बेला बनाएको भए राज्यले दिने सेवा केही पाइन्थ्यो कि १ अहिले त वृद्धभत्ता पनि पाइन्छ । नागरिकता नहुँदा यतिका वर्ष त्यसबाट वञ्चित हुनुभयो ।‘ उनले भने ।
साइपालवासीलाई नागरिकता बनाउन त्यति सजिलो छैन । पैदल हिँडेर नै चार/पाँच दिनसम्म लाग्ने सदरमुकाम ओहोरदोहोर गर्दा प्रतिव्यक्ति रु ३० हजार खर्च हुन्छ । खर्च र समयका कारण पनि केहीले नागरिकता लिन ढिलाइ गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेलले बताए ।
प्रमुख जिल्ला अधिकारी भन्छन्, ‘सात दशकसम्म पनि नागरिकता नपाएको भन्ने खबर सुनेपछि घरमै गएर पनि नागरिकता दिनुपर्छ भन्ने सोचेँ । त्यसका लागि हिँडेरै भए पनि साइपाल जाने तयारीमा थियौँ । सौभाग्यवश, साइपालमा जलविद्युत् उत्पादनको तयारी गरिरहेको कम्पनीको हेलिकोप्टर आयो । त्यसैमा गएर नागरिकता प्रदान गर्यौँ ।’








