धनकुटामा वडाध्यक्षलाई घरमै थुनेर लगाइयो आगो

काठमाडौं । धनकुटाको पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँलाई घरमै थुनेर ज्यानमार्ने प्रयास गरिएको छ ।

आइतवार राति घरमा सुतिरहेको समय घरमा आगो लगाएर बाहिरबाट थुनिएको घटना सार्वजनिक भएको हो ।

वडाध्यक्ष गुरागाईँले राति करिब १२ः४८ बजेतिर ब्युझिँदा घरभित्र धुँवाको मुस्लो घुमिरहेको बताए । उनले भने, ‘निन्द्राबाट ब्युँझने बित्तिकै घरमा आगो लागिरहेको थाहा पाए । पत्नीसहित बाहिर निस्कन खोज्दा धुँवाका कारण सम्भव भएन । बाहिरबाट ढोका पनि लक गरिएको थियो ।’

छिमेकी अम्बिका थापाले भर्‍याङ दिएर झ्यालबाट निस्केर श्रीमती र आफूले ज्यान जोगाएको उनले बताए ।

‘हामीमाथि ज्यान मार्ने नियतले नै घटना घटाइएको हो । घरभित्रै थुनेर कसले आगो लगायो किन लगायो कुनै जानकारी आएको छैन । कारण पनि पत्ता लागेको छैन। धन्न समयमै थाहा पायौँ र ज्यान जोगायौं।’ उनले सुनाए ।

वडाध्यक्ष गुरागाईँले घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको र एकजनालाई नियन्त्रणमा समेत लिएको जानकारी दिए ।

उनले घरभित्रका करिब २/३ लाख बराबरको सामान जलेर नष्ट भएको पनि बताए ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले वडाध्यक्ष गुरागाईँको घरमा आगोलागी गराइएको र हाल दुबैजना सुरक्षित रहेको बताए । उनले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको पनि बताए ।

गुरागाईँ नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =