वायुसेवा निगमका प्रमुख अधिकारीलाई कार्यालय प्रवेश निषेध

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तको माग राख्दै कर्मचारीले आन्दोलन सुरू गरेका छन् ।
एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीहरूले कार्यकारी प्रमुख अधिकारीलाई प्रवेश निषेध गरेका हुन् ।
यस क्रममा निगमको आन्दोलनरत कर्मचारीले कार्यालयको गेटमै तीन करोड नेपाली जनताको साझा सम्पत्ति राष्ट्रिय ध्वजावाहकलाई डुबाउन खोज्ने कार्यकारी प्रमुखलाई निगममा प्रवेश निषेध गरेको भनी ब्यानर टाँगेका छन् ।
निगमको प्रमुख स्रोतको रूपमा रहेको त्रिभुवन विमानस्थलको ग्राउन्ड हेण्डलिङ जोगाउन नसकेको, निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको नियमित मर्मततर्फ ध्यान नदिएको, ज्यालादारी र करारका कर्मचारी मनोमानी नियुक्ति गरी स्थायी योग्य र कुशल कर्मचारीको मनोबल गिराउने लयाउतका काम गरेको उनीमाथि आरोप छ ।
केही दिन पहिले मात्रै नेपाल उड्डयन प्राधिकरणले निगमले एकाधिकार पाएको ग्राउन्ड ह्यान्डलसङको जिम्मा खुल्ला प्रतिस्पर्धाबाट दिने निर्णय गरेको थियो ।
यससँगै वर्षौँदेखि सञ्चालनमा नरहेको र व्यवस्थित गर्न नसकेको ट्वीनअटर जहाज साथै पाँच थान चिनियाँ जहाज र त्यसका करोडौँ मूल्यका पार्टपुर्जाहरू बेवारिसे अवस्थामा छाडिएको भन्दै कर्मचारीले ध्यानाकर्षण गराएका छन् । कार्यकारी प्रमुख अधिकारीलाई बर्खास्त गर्नुपर्नेको ९ वटा कारण राखेर आफूहरूले आन्दोलन थालेको आन्दोलनकर्ताले जनाएको छ ।








