फोहोरको गन्धका कारण ककनीमा हुँदैन उब्जनी

काठमाडौं । २०६२ सालमा नुवाकोट सिसडोल र ओखरपौवाका स्थानीयहरूले बञ्चरेडाँडा र सिसडोल क्षेत्रमा लड्डु खाएर फोहोर विसर्जन गर्न सहमति दिएका थिए । १८ वर्ष पहिला एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै ठूलो अस्पताल बन्ने आशामा पूजा गर्दै लड्डु खाएर फोहोर फाल्न दिने सहमति दिएका स्थानीयहरू अहिले फोहोरमा पिल्सिएर बस्न बाध्य भएका छन् ।

फोहोरले घेरिएको ककनी गाउँपालिका १, सिसडोल २ ओखरपौवा र वडा ३ चाउथे क्षेत्रका मानिसहरूमा स्वास्थ्य समस्यादेखि खेतबारीमा अनाज उब्जनी समेत हुन छाडेको छ । उक्त क्षेत्रमा रहेको खेतबारी फोहोरले पुरेको र बाँकी रहेको खेतबारीममा अनाज उब्जनी हुन छाडेको स्थानीयहरूको गुनासो छ ।

सरकारले फोहोर विसर्जन गर्न सहमति दिँदा एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै अस्पताल बनाइदिएर फोहोरमा मोहोर बनाउने आशा निराशामा परिणत भएको छ । फोहोरको दुर्गन्धको कारण माटोमा अन्न र फलफूल पनि फल्न छोडेको स्थानीय किसानहरूको गुनासो छ । उनीहरूले अन्न उम्रे पनि फल लागेपछि पात र फललाई किराले खाने जस्ता समस्या किसानहरूले भोग्नुपरेको बताए ।

किसानहरूले फोहोरबाट निस्केको लिच्चड खोलामा मिसिँदा खेतबारीमा उब्जनी हुन छाडेको गुनासो गरे । उत्पादन भएको फलफूल तरकारी समेत फोहोरमा उत्पादन भएको भनेर कसैले किन्न नमान्ने गरेको गुनासो कृषकहरूको छ । यस क्षेत्रका किसानहरू लगाएको अन्नबाली र फलफूलहरूमा किरा र डढुवा लाग्ने गरेको बताउँछन् ।

ककनी गाउँपालिका चाउथेका स्थानीय कृषक कृष्णहरी ढुङ्गानाले बञ्चरेडाँडामा फालेको फोहोरको दुर्गन्धले ककनी गाउँपालिकाको वडा १ सिसडोल र २, ओखरपौवाका साथै वडा ३ चाउथे क्षेत्रमा कृषि उत्पादनमा ह्रास आउन थालेको गुनासो गरे । उनले फोहोरको दुर्गन्धले किसानहरूले उत्पादन गरेको कृषिबाली र फलफूलहरूमा किरा लाग्ने गरेको उल्लेख गरे ।

कृषक ढुङ्गानाले किसानहरूले लगाएको आलु,काउली, गोलभेडा र साग जस्ता तरकारी बालीहरूमा किराहरू लागेर बाली नष्ट गर्ने गरेको बताए । उनले बिरुवाहरू नै नफस्टाउने समस्या देखिएकाले यो क्षेत्रको अन्नबाली उत्पादनमा समेत धेरै ह्रास आएको दुखेसो गरे । उनले कागती निबुवा जस्ता अमिलो फलफूलमा समेत सेता किराहरू लाग्ने गरेका बताउनु भयो ।

उनले फोहोरको असरको कारण कृषि उत्पादनमा विनाश गर्ने मात्रै नभएर पशुपंक्षीहरुमा समेत नयाँ–नयाँ रोगहरू निस्कन थालेकाले बस्न सक्ने अवस्था नभएको भन्दै राज्यले बस्ती स्थानान्तरण गर्नुपर्ने माग गरिएको बताए ।

उनले भने, ‘फोहोरको दुर्गन्धले ककनी गाउँपालिकाको वडा नम्बर १ सिसडोल र २ ओखरपौवा र वडा नम्बर ३ चाउथे क्षेत्रमा कृषि उत्पादनमा किरालाग्न थालेको छ । किसानहरूले लगाएको आलु,काउली, गोलभेडा र साग जस्ता तरकारी बालीहरूमा फोहोरको गन्धले विभिन्न किसिमका किराहरू लाग्न थालेको छ । बिरुवाहरू नै फस्टाउन नसक्ने जस्ता समस्या देखिएकाले यो क्षेत्रको अन्नबाली उत्पादनमा धेरै ह्रास आएको छ । कागती निबुवा जस्ता अमिलो फलफूलमा किरा नलाग्नुपर्ने भएपनि अहिले यो क्षेत्रमा फलफूलमा समेत सेता किराहरू लाग्ने गरेका छन् । कागती,सुन्तला जस्ता फलफूल उत्पादन फोहोरको गन्धले नष्ट भएर गयो । फोहोरको असरको कारण कृषि उत्पादनमा विनाश गरेको छ । पशुपंक्षीहरुमा समेत नयाँ–नयाँ रोगहरू निस्कन थालेको छ ।’

अर्का कृषक विश्वनाथ बजगाईँको दुखेसो पनि उस्तै छ । कृषक बजगाईँले पनि राज्यले काठमाडौं उपत्यकाको फोहोर वैज्ञानिक व्यवस्थापन गर्न नसक्दा मानवीय मात्रै नभएर कृषि उत्पादनमा समेत असर पर्न थालेको बताए ।

उनले ककनी क्षेत्रमा उत्पादन हुने फलफूल तथा कृषि उत्पादनहरूमा फोहोरको असरले सबैमा किरा लाग्न थालेको बताए । उनले उत्पादन भएको फलफूलहरू बाहिरबाट हेर्दा राम्रो देखिने तर सुन्तला,ज्यामिर,निबुवा,जुनारमा भित्र किरा लागेर खानै नहुने हुन थालेको भन्दै किसानहरूको मेहनत समेत खेर जान लागेको बताए ।

उनले भने, ‘२२ वटा भन्दा बढी स्थानीय तहको फोहोर बञ्चरेडाँडामा अवैज्ञानिक रूपमा विसर्जन गर्दा मानवीय मात्रै नभएर कृषि उत्पादनमा समेत असर परेको छ । जसमा ककनी क्षेत्रमा उत्पादन हुने फलफूल तथा कृषि उत्पादनहरूमा फोहोरको असरले सबैमा किरा लाग्न थालेको छ । बाहिरबाट हेर्दा राम्रो देखिने तर सुन्तला,ज्यामिर,निबुवा,जुनारमा भित्र किरा लागेर खानै नहुने भएको छ ।’

ककनी फोहोरबाट प्रभावित क्षेत्रका अर्का स्थानीय किसान शिवराम घिमिरेले पनि कृषि उत्पादन अन्नबालीदेखि फलफूलमा विभिन्न रोगहरू लाग्नाले उत्पादन ह्रास आउन थालेको बताए ।

उनले यो क्षेत्रमा उत्पादन हुने सुन्तला, कागती र मौसमहरूमा किरा लाग्ने थालेको बताए । उनले फोहोरको गन्धको कारण कृषिबालीहरुमा ठूलो असर गरेकाले यस्तै रहे यो क्षेत्र उजाड बन्ने अवस्था आउने बताए ।

उनले राज्यले काठमाडौं उपत्यकाले उब्जाएको फोहोरको रोग नुवाकोट ककनीबासीलाई दिने काममा भन्दा पनि वैज्ञानिक व्यवस्थापनको विकल्प खोज्न आवश्यक रहेको बताए ।

उनले भने, ‘कृषि उत्पादन अन्नबालीदेखि फलफूलमा विभिन्न रोगहरू लाग्नाले उत्पादन ह्रास आउन थालेको छ । यो क्षेत्रमा उत्पादन हुने सुन्तला, कागती र मौसमहरूमा किरा लाग्ने थालेको छ । फोहोरको गन्धको कारण कृषिबालीहरुमा यति ठूलो असर गरेको छ भने मानवहरूमा कति असर परेको छ भन्ने विषय मूल्याङ्कन गरेर भन्न सक्ने अवस्था छैन । त्यसैले राज्य काठमाडौं उपत्यकाले उब्जाएको फोहोरको रोग नुवाकोट ककनी बासीलाई दिने काममा भन्दा पनि राज्यले वैज्ञानिक व्यवस्थापनको विकल्प रोज्न आवश्यक छ ।’

अर्का स्थानीय कृषक मनिष ढुङ्गानाको पीडा पनि अरू किसान र स्थानीयको भन्दा फरक छैन । कृषक ढुङ्गानाले मानवीय स्वास्थ्य समस्या मात्रै नभएर फोहोरको गन्धको कारण कृषि उत्पादनमा ह्रास आउन थालेको बताए।

उनले काठमाडौं उपत्यकाको फोहोर अस्तव्यस्त रूपमा नुवाकोट सिसडोल र बञ्चरेडाँडामा फाल्दा फोहोरको दुर्गन्ध कम गर्न हालिएको केमिकलहरूले मानवीय स्वास्थ्यमा बढी प्रभाव पार्ने थालेको पनि बताए ।

उनले भने, ‘राज्य काठमाडौं उपत्यकाको फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न नसक्दा मानवीय स्वास्थ्य समस्या प्रमुख असर हो । मानवीय स्वास्थ्य समस्या मात्रै नभएर फोहोरको गन्धको कारण कृषि बालीहरू उत्पादनमा समेत असर परेको छ । जसको असरले कृषि उत्पादनमा ह्रास आउन थालेको छ । काठमाडौं उपत्यकाको फोहोर अस्तव्यस्त रूपमा फोहोर फालेको छ । अझ फोहोरको दुर्गन्ध कम गर्न विभिन्न केमिकलहरू प्रयोग गरेको छ । तर फोहोरको गन्धले भन्दा पनि केमिकलले मानवीय स्वास्थ्यमा बढी प्रभाव पार्ने थालेको छ ।’

काठमाडौं उपत्यकाको फोहोर सिसडोल र बञ्चरेडाँडामाजथाभावी फालिदिँदा डम्पिङ साइटनजिक मात्र नभएर ककनी गाउँपालिकाको वडा न. १, २, ३ र धुनीबेंसी नगरपालिका (धादिङ) को केही वडा बढी प्रभावित भएका छन् ।

यो क्षेत्रका मानिसहरूमा बाह्रैमास रुघाखोकी र झाडापखाला र क्यान्सर जस्ता प्राणघातक रोगको शिकार बन्न थालेका छन् । त्यसैले फोहोर व्यवस्थापन गर्ने अधिकार प्राप्त निकाय र राज्यको ध्यान वैज्ञानिक फोहोर व्यवस्थापन गरेर वा फोहोरबाट प्रभावित स्थानीयहरुको बस्ती स्थानान्तरण गरी न्याय दिन जरुरी छ ।

प्रसन्न ढुंगाना र अनिष मिजार/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *