दोलखाका ५ विद्यालयलाई ४ सय ५५ वटा झोला हस्तान्तरण

काठमाडौं । एसएस फाण्डेशनले दोलखाका विभिन्न विद्यालयहरुलाई ४ सय ५५ वटा झोला हस्तान्तरण गरेको छ ।
शनिवार काठमाडौंमा विद्यालयका प्रतिनिधिहरुलाई ४ सय ५५ वटा झोला विद्यार्थीहरुका लागि हस्तान्तरण गरिएको हो । झोलाहरु राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले विद्यालयका प्रतिनिधिहरुलाई हस्तान्तरण गरे ।
दोलखाको जिरी नगरपालिका ५को ढुंगेश्वरी माध्यमिक विद्यालयलाई २९७, जिरी नगरपालिका ६ मिथिल्लो सिक्री आधारभुत विद्यालयलाई ४५, जिरी नगरपालिका ७ को देउराली आधारभुत विद्यालयलाई ४५, जिरी नगरवपालिका ७ कै छहारे आधारभुत विद्यालयलाई ४० र जिरी नगरपालिका ७ को सेरोल्पा आधारभुत विद्यालयलार्य २८ गरी कुल ४ सय ५५ थान झोला हस्तान्तरिण गरिएको हो ।
झोला हस्तान्तरणपछि उपनेता तामाङले एसएस फाउण्डेशनले विभिन्न स्थानका विद्यालयहरुका आर्थिक विपन्न विद्यार्थीहरुलाई विद्यालयमा आवश्यक पर्ने झोला लगायतका सामग्रीहरु प्रदान गर्दै आइरहेको बताए । उनले कोभिडको समयमा पनि फाउण्डेशनले धेरै सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर गर्नेमा आशावादी रहेको बताए ।
उनले भने– ‘खास गरेर यो एसएस फाउण्डेशनले जुन किसिमको स्कुलहरुमा झोला र विद्यार्थीहरुलाई आवश्यक पर्ने अन्य सामग्री दिइरहेको छ, त्यसको अलावा कोभिडको समयमा पनि धेरै सहयोग गर्ने काम गरेको छ । यस फाउण्डेशनबाट समाजमा दिनदुःखीलाई सहयोग गर्दै आएको छ । आपत्कालीन अफ्ठ्यारो जसलाई परिरहेको छ, त्यसलाई पनि आपत्कालीनमा सम्बोधन गरेको छ । यो प्रशंसनीय काम हो । यो नमूनायोग्य काम हो ।’
नेता तामाङले फाउण्डेशनको यो काम नमूनायोग्य र प्रशंसनीय रहेको बताए ।








