कर्जाको ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्छ : बैंकर्स संघ अध्यक्ष

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो एक वर्षमा कर्जाको ब्याजदर १ प्रतिशत घटेको बताएका छन् ।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

उनले अहिले बैंकको आधारदर (बेसरेट) एकल अंकमा आएको भन्दै बैंकको ब्याजदर अझै घट्दै जाने दाबी गरे । उनले आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा रहेको उल्लेख गरे ।

उनले अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक रुपमा अगाडि बढेको भन्दै नेपालको बैंकिङ क्षेत्रमा लगानी योग्य रकम प्रशस्त रहेको बताए । उनले बैङ्कहरूमा पछिल्लो समय खराब कर्जा लगायतका चुनौतीहरू रहेको बताए ।

उनले गत वर्षको तुलनामा बैङ्कहरूको नाफा २८ प्रतिशतले घटेको बताए । उनले दक्षिण एसियाका अन्य देशहरू भन्दा राम्रो गरिरहेको अवस्था भएपनि सजग हुनुपर्ने अवस्था रहेको उल्लेख गरे ।

पछिल्लो समय सडकबाट हुने आक्रमणले पनि बैंकिङ क्षेत्रको मनोबल कमजोर बन्दै गइरहेको उल्लेख गरे ।

उनले भने ‘पछिल्लो समय उच्च भनिएको बैंकको ब्याजदर अहिले आएर घट्ने क्रममा छ । अघिल्लो वर्षदेखि अहिलेसम्म कर्जामा लिने ब्याज १ प्रतिशत भन्दा बढीले घटिरहेको अवस्था छ । बैंकको वेसरेट पनि घटेर एकल अंकमा आइसकेको छ । बैंकको ब्याजदर घट्ने क्रम जारी छ । यसले आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा हामीले लिएका छौं । अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक रुपमा अगाडि बढेको छ । आगामी दिनमा आर्थिक क्षेत्रको विकासको लागि आवश्यक हुने कर्जाको लागि नेपालको बैंकिङ क्षेत्र तरलता अभाव छैन । बैंकिङ क्षेत्र सक्षम अवस्थामा छ । बैङ्कहरूमा पछिल्लो समय चुनौतीहरू पनि छन् । जसमा गत वर्षको तुलनामा बैङ्कहरूको नाफा २८ प्रतिशतले घट्न गएको छ । १० वर्षअघि २० प्रतिशत बढी रहेको रिटर्न अन इकुटी घटेर अहिले ८ प्रतिशतको लेभलमा आइरहेको छ । बैङ्कहरूको खराब कर्जाको समस्या पनि देखिएको छ । तर पनि दक्षिण एसियाका अन्य देशहरू भन्दा राम्रो गरिरहेको अवस्था भए पनि सजक हुनुपर्ने अवस्था छ । पछिल्लो समय बैङ्कहरूलाई सडकबाट हुने आक्रमणले पनि बैंकिङ क्षेत्रको मनोबल पनि कमजोर बन्दै गइरहेको छ ।’

उनले बैंकहरुले ऊर्जामा ३ सय अर्ब लगानी गरेको बताए । देशको विकासका लागि वैदेशिक लगानी आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =