लमजुङ अस्पताल तनावग्रस्त, अश्रुग्यास प्रहार


सुत्केरी र शिशुको मृत्युपछि लमजुङ अस्पतालमा तनाव भएको छ।
मर्स्याङ्दी गाउँपालिका–९, पामचोक दलितबस्तीकी २६ वर्षीया शोभा विक र उनको शिशुको मृत्यु भएको विषयले बुधबारदेखि लमजुङ अस्पताल तनावग्रस्त बनेको हो।
मृतक परिवार र आफन्तले बिहीबार साँझ प्रदर्शन र नाराबाजी गर्दै तोडफोडसमेत गरेपछि प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको छ।
अस्पतालको सीसा फुटेको छ भने २ प्रहरी घाइते भएका छन्। गर्भवती शोभा विकलाई सुत्केरी ब्यथाले च्यापेपछि सोमबार अस्पतालमा भर्ना गरिएको थियो ।
शल्यक्रियामार्फत निकालिएको शिशु मृत रहेको र सुत्केरी आमाको निरन्तर रक्तश्राब भएपछि मंगलबार बिहान चितवन मेडिकल कलेजमा रिफर गरिएको थियो। सुत्केरी विकको चितवनमा अस्पताल पुर्याउनेबित्तिकै मृत्यु भएको थियो ।
सुत्केरी र शिशुकै मृत्यु भएपछि उनको परिवार र आफन्तले अस्पताल तथा चिकित्सकको लापरबाहीले घटना भएको भन्दै बुधबार बिहानदेखि नै अस्पतालमा प्रदर्शन गरेका हुन्।
