प्रधानमन्त्रीको भ्रमणका कारण छुटेका ३१ जनालाई आज राति दुबई पठाइने

काठमाडौं । प्रधानमन्त्रीको भ्रमणका कारण संयुक्त अरब इमिरेट्सको दुबई जान छुटेका यात्रुहरूलाई वैकल्पिक उडानमार्फत लगिने भएको छ ।

नेपाल वायु सेवा निगमले प्रेस विज्ञप्ति जारी गर्दै २७४ मध्ये छुटेका यात्रुहरूलाई आजै दुबई लगिने जनाएको हो ।

‘काठमाडौं–दुबईको उडान नम्बर आर–ए २९९ को नियमित उडान समय रिसेड्युल भई २१ः ३० बजे राखिएको र यात्रुहरूको उपलब्ध भएको इमेल,फोन र ट्राभल एजेन्सीमार्फत् सेड्युल परिवर्तन भएको जानकारी गराइएकोमा २७४ यात्रुमध्ये केही यात्रुहरू उक्त उडानमा छुट हुन गएको पाइएकाले यसबाट यात्रु महानुभावहरूमा पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै आज मिति ३० नोभेम्बर २०२३ मा उपलब्ध वैकल्पिक उडानबाट सबै यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउने प्रबन्ध मिलाइएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

घटनाबारे छानबिन गर्न वाणिज्य विभाग प्रमुखलाई निर्देशन दिइसकिएको समेत विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ कोप–२८ मा सहभागी हुन नेपाल एयरलाइन्सले समय अगाडि सार्दा ३१ जना यात्रु छुटेका थिए ।

बुधवार राति साढे ९ बजे प्रधानमन्त्री प्रचण्डसहित २५० जना यात्रु दुबईका लागि उडेका थिए । प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा सहभागी हुन त्यहाँ गएका हुन् ।

नेपाल एयरलाइन्सको राति साढे ११ बजे नियमित उडान हुन्छ । त्यसअनुसार नै बुधवारका लागि पनि त्यही समयको टिकट बुकिङ भइसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *