गैंडा मारेर खाग बिक्री गर्ने ८ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । चितवनमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।
मुकाम चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका ८ जनालाई सार्वजनिक गरेको हो । गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली क्षेत्रमा दुई वटा पोथी गैंडालाई खाडल खनेर मारेको अवस्थामा फेला परेको थियो ।
गैंडाको खाग काटेर लगेको अवस्थामा फेला परेपछि अनुसन्धान गरी गैंडा मार्नेको खोजी गरिएको निकुञ्जका महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए ।
अनुसन्धानको क्रममा निकुञ्जले दुई वटा खाग पनि बरामद गरेको छ ।
१८ इन्च गोलाइ, ६ इन्च उचाइ भएको र ४८० ग्रामको एउटा र ११.८ इन्च गोलाइ, २ इन्च उचाइ भएको र ६० ग्रामको अर्को खाग बरामद भएको हो ।
गैंडा सिकार गर्न प्रयोग भएका हतियारहरू पनि बरामद भएका छन् ।
अधिकारीहरूले मुख्य योजनाकार हेटौँडा उपमहानगरपालिका–३ लेबर्ट बस्ने ३३ वर्षीय रमेश खातीलाई पनि पक्राउ गरेको छ । उनले नै गैंडाको खाग बिक्री वितरण गर्ने गरेको महानिर्देशक ढुङ्गानाले बताए ।
यस्तै सिकारी चितवनका पासाङ भन्ने आइते सिंह मोक्तान, हेटौंडाका समसेर थिङ, थिङ बाजे भन्ने सिताराम थिङ, अर्जुन रोका, घले भन्ने धनबहादुर गुरूङ, उनबहादुर स्याङतान र स्याङ्बो भन्ने इन्द्रबहादुर तामाङ छन् ।
यस घटनाको अनुसन्धान गर्न नेपाली सेना, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, खड्गदल गण कसरा ब्यारेक, चितवन जिल्ला वन्यजन्तु अपराध नियन्त्रण इकाइ लगायत खटिएका थिए ।








