नेपालको सार्वभौम सत्ता जोगाउन भूराजनीतिक सन्तुलन कायम राख्नुपर्छ : समशेर जबरा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले नेपालको सार्वभौम सत्ता जोगाउन भूराजनीतिक सन्तुलन कायम राख्नुपर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको सार्वभौम सत्ताको मूल आधार भूराजनीतिक सन्तुलन भएको बताए । उनले नेपालले आफ्नो सार्वभौम सत्ता कायम राख्न सक्नुको मुख्य आधार भूराजनीतिक संवेदनशीलता रहेको बताए ।

उनले भूराजनीति सन्तुलन कसरी कायम राख्ने ? ऐतिहासिक रुपमा नेपालले यो भुमिका कसरी कायम गरेको छ ? भन्ने हिसाबबाट हेर्नुपर्ने बताए ।

उनले भने ‘नेपालको सार्वभौम सत्ताको मूल आधार भूराजनीतिक सन्तुलन हो । नेपाल बचेको, नेपाल बढेको, नेपालले आफ्नो सार्वभौम सत्ता कायम राख्न सकेको मुख्य आधार के हो भने भूराजनीतिक संवेदनशीलता हो । भूराजनीति सन्तुलन कसरी कायम राख्ने ? ऐतिहासिक रुपमा नेपालले यो भुमिका कसरी कायम गरेको छ । पृथ्वीनारायण शाह, जंगबहादुर होस् चाहे बिपी कोईराला होस् सम्पूर्ण मान्छेहरूले नेपालमा आफ्नो भूराजनीतिक असंग्नतामा कार्यकौशलता प्रदर्शन गरेर यो मुलुकको अस्तित्व जोगाएका छन् ।’

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जलवायु सम्मेलन (कोप—२८) मा प्रधानमन्त्रीले राख्ने विषयवस्तुहरू अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई जानकारी नगराएकोमा आपत्ति जनाए ।

उनले उत्तर कोरियाले नेपालस्थित राजदूतावास हटाएकोबारे सरकारले जानकारी नगराएकोप्रति पनि आपत्ति जनाए । उनले नेपालमा भइरहेको दूतावास हट्नु भनेको नेपालसँग एउटा मित्रराष्ट्र घट्नु रहेको बताए ।

उनले भने ‘हिमालहरू नाङ्गिँदै छ । यो त सबैले थाहा पाएकै विषय हो । यसकारण कोपमा के बोल्नुहुन्छ प्रधानमन्त्रीज्युले त्यो त यहाँ हाम्रो समितिलाई थाहा हुनुपर्छ नि । प्रजातन्त्र कोरिएको राजदूतावास बन्द गरेर गयो । खै सरकार यो समितिलाई जानकारी दिनुपर्दैन ? यो देशमा जे भएपनि केही मतलब नै नहुने सरकारलाई ? एउटा देशको राजदूतावास जानु भनेको हाम्रो एउटा मित्र घट्नु हो । हाम्रो सरकारबाट केही सहयोग नपाएको हो की ? हेला भयो की ? अर्को रुस र युक्रेनको सेनामा दुवैमा नेपाली युवा भर्ना हुँदा मरेको भन्ने छ । गोरखा भर्तीदेखि बेलायतले अर्काको देशमा लड्नको लागि युवालाई लगेको लग्यै । यो समितिले सरकारलाई त्यसबारेमा सोध्नुपर्छ । अबदेखि नेपालले नेपाली युवालाई भाडाको सेना बनाउनु हुँदैन । हाम्रो छोराछोरी भाडाको सिपाही बनाउन नचाहने, जनताको छोराछोरीलाई लगेर लडाउने ? यो समितिले न्याय गरेको सरकारले न्याय गरेको हुँदैन । समितिले सरकारलाई कडा निर्देशन दिनुपर्छ । कि समितिले प्रधानमन्त्रीको छोराछोरीदेखि सर्वसाधारणको छोराछोरीलाई भाडाको सिपाही बनाउनुपर्छ भनेर कानुन बनाउनु पर्छ । जनताको छोरा छोरी लडाउनु हुँदैन, यो युवा बेच्ने कुरा हो ।’

सांसद सुवालले नेपालले नेपाली युवालाई भाडाको सेना बनाउनु नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =