विदेशी लगानीकर्तालाई सभामुखको आह्वान : अर्थतन्त्र अनुकूल बन्दैछ, लगानी बढाउनुस्

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको अर्थतन्त्र प्रतिकुलताबाट अनुकूलतातर्फ गइरहेकाले ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्ताहरूसँग आग्रह गरेका छन् ।
बिहीबारबाट नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा सुरु भएको नवौँ अन्तर्राष्ट्रिय व्यापार मेला—२०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले पछिल्लो समय विदेशी लगानीकर्ताहरू केही नाफा कमाएपछि स्वदेश फर्किने क्रम बढेको बताए । उनले थोरै नाफा लिएर गइहालौँ भन्ने सोच्नु भन्दापनि अनुकूलतातर्फ गइरहेको नेपालको अर्थतन्त्रबाट अब झनै फाइदा लिनेगरी लगानी गर्ने बारेमा जोड दिनुपर्ने बताए ।
उनले भने ‘यस्तो बेलामा विदेशीहरूले यहाँ ठूलाठूला लगानीहरू गरेर व्यवसाय गरिरहेका ठाउँमा लगानी फिर्ता लिन खोजेका केही कुराहरू आएका छन्, ती घटनाहरूप्रति मेरो ध्यान गएको छ । म के भन्न चाहन्छु भने अब हामी प्रतिकुलतामा रहेको अर्थतन्त्रलाई अनुकूलतामा लैजाने दिशामा गइरहेका छौँ । कोभिडबाट थलिएको स्थितिबाट अघि बढ्न लागिरहेका छौँ । अहिले मुनाफामा चलिरहेका यस्ता व्यवसायहरू, खासगरी यस्ता उद्यमी क्षेत्रमा लगानीका महत्वपूर्ण क्षेत्रमा केही नाफा हुँदैमा विदेशीहरूले त्यो नाफा लिएर गइहालौँ भनेर नसोचीकन अझ धेरै नाफा आउने परिस्थिति जुन आइरहेको छ, त्यसलाई पर्खिएर अघि बढ्ने वातावरण बनाउनुपर्छ । देशको संविधानले पनि निजी क्षेत्रलाई मुलुकको आर्थिक विकासको खम्बाको रुपमा लिएको छ ।’
सभामुख घिमिरेले सातै प्रदेशमा प्रदर्शनी कक्षको व्यवस्थापन गरी व्यापार व्यवसायलाई अघि बढाउन प्रोत्साहन गर्नुपर्ने बताए । उनले देशको खस्किँदो अर्थतन्त्रका पछाडि स्थायित्व नहुनु, भौतिक पूर्वाधारहरूको विकासमा कमी रहनु, औद्योगिक असुरक्षा महसुस हुनु, लगानीमैत्री वातावरणको कमी रहनु, करका दरहरूको अनिश्चितता लगायतका कुराहरूले निजी क्षेत्रले लगानी प्रोत्साहन गर्न नसकिरहेको बताए ।
उनले निजी क्षेत्रले ढुक्कले काम गर्न पाए आर्थिक विकास, रोजगारी सिर्जना र लगानी आकर्षित हुने विश्वास व्यक्त गरे । उनले लगानीमैत्री कानुन निर्माणको नेतृत्वका लागि आफू प्रयत्नरत रहेको बताए ।
उनले भने ‘निजी क्षेत्रको समस्याका बारेमा पनि जानकार छु । अहिले एउटा प्रदर्शनी कक्षमात्रै नभइरहेको सन्दर्भमा देशको यो काठमाडौंमा मात्रै होइन सातै प्रदेशमा पनि यस्ता प्रदर्शनी कक्ष निर्माण गर्ने र यसलाई व्यवस्थित ढंगबाट प्रदर्शनको योजना बनाउने कुरामा संसदको तर्फबाट र सभामुखको तर्फबाट खेल्नुपर्ने भूमिकाका लागि म प्रयत्न गर्नेछु । आज भन्दा करिब २० वर्ष अघिदेखि नै यस्ता योजनाहरू बन्ने र कार्यान्वयन नहुने कुराहरूमा मेरो गम्भीर ध्यान आकृष्ट भएको छ । देशको खस्किँदो अर्थतन्त्रका पछाडि स्थायित्व नहुनु, भौतिक पूर्वाधारहरूको विकासमा कमी रहनु, औद्योगिक असुरक्षा महसुस हुनु, लगानीमैत्री वातावरणको कमी रहनु, करका दरहरूको अनिश्चितता जस्ता कुराहरूले निजी क्षेत्रलाई लगानी प्रोत्साहन गर्न सकिरहेको छैन । यी समस्या हटाउन राजनीतिक प्रतिविद्धतासहितको लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भुमिका निर्वाह गर्नुपर्ने कुराहरू हुन्छ । निजी क्षेत्रले ढुक्कले काम गर्न पाए आर्थिक विकास, रोजगारी सिर्जना र लगानी आकर्षित हुन्छ । समयमै मुलुक समृद्ध हुनसक्छ, सभामुखको हैसियतले लगानीमैत्री कानुन निर्माणको नेतृत्वका लागि सदैव मेरो पहल र प्रयत्न रहनेछ । आर्थिक मन्दी रहेको र व्यावसायिक वातावरण नभएको जस्ता हल्ला र प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउने भन्दा पनि सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन लाग्न विशेष अनुरोध गर्छु । हामीसँग पर्याप्त सम्भावना बोकेका कृषि, पर्यटन, पूर्वाधार लगायतका सेवा तथा उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्न अग्रसर हुनुपर्ने आवश्यकता छ ।’
सभामुख घिमिरेले आर्थिक मन्दी रहेको र व्यावसायिक वातावरण नभएको प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउने भन्दा पनि सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन लाग्न आग्रह गरे ।
पर्याप्त सम्भावना बोकेका कृषि, पर्यटन, पूर्वाधार लगायतका सेवा तथा उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्न अग्रसर हुनुपर्ने आवश्यकता औँल्याए ।








