महिलाहरूलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्छ : इन्दिरा राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानालेले महिलाहरूलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

सोमवार ललितपुरमा आयोजित ‘महिला तथा बालिका विरुद्ध हुने हिंसा रोक्न लगानी गरौँ’ विषयक अन्तरक्रियामा बोल्दै उनले महिलाहरूलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।

उनले महिला–महिलाहरूको विचमा प्रतिस्पर्धा गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले महिलाहरूलाई निर्वाचनमा लड्नका लागि बजेट नै छुटाउनुपर्ने पनि बताइन् ।

उनले महिला सांसदहरू धेरै समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका बताउँदै समानुपातिक सांसदहरूलाई होच्याउने काम भएको बताइन् । उनले महिलाहरूलाई राजनीतिको निर्णायक ठाउँमा पुर्याउनुपर्ने पनि बताइन् ।

उनले भनिन् ‘धेरैजसो महिला सांसदहरू समानुपातिकबाट आएका छौँ । ३३ प्रतिशत आरक्षण प्रणालीबाट आएका छौँ । मलाई लाग्छ हामी निर्णायक भूमिकामा छैनौँ । हामीमा पहुँच छैन । त्यसले गर्दा कति कुराहरू चाहेर पनि हामीले ह्वीपमा एस्, एस् भन्नुपर्छ । कति चित्त नबुझेको कुरामा पनि । महिलाहरू निर्णायक भूमिकामा आउनुपर्छ । पहुँचमा आउनुपर्छ र त्यसमा हामीले बढी लगानी गर्नुपर्छ । महिला माननीयहरू प्रत्यक्षमा लड्ने ठाउँमा महिला–महिला लडाउने । अथवा महिलाहरूलाई सरकारले केही बजेटहरू छुट्टयाइदिने निर्वाचनमा भन्ने कुरामा जोड दिनुपर्छ । समानुपातिकमा तिमीलाई त बोलाएर आएको त हो नि । दिएर आएको त हो नि भनेर हामीलाई हीनताबोध दिने काम भइरहेको छ । हामी जुनसुकै पार्टीबाट आएपनि हाम्रो व्यक्तिगत स्वार्थ र पार्टीको स्वार्थभन्दा माथि उठेर, राष्ट्र र जनताको हितको लागि जुन पिछडिएका वर्गहरू, महिला, सीमान्तकृत वर्गहरू, अपाङ्गता भएका साथीहरूको लागि आवाज उठाउनलाई हामीले त्यही वर्गबाट धेरै प्रतिनिधित्व हुनुपर्छ । र दह्रो गरी आउनुपर्छ । कोही कसैको बिचरा भएर होइन ।’

उपसभामुख रानाले महिलाहरूलाई विश्वविद्यालय तहसम्म निःशुल्क पढ्ने व्यवस्था मिलाउनुपर्ने बताइन् । बालिकाहरूले बीचमै विद्यालय छोड्ने दर बढिरहेको भन्दै उनले यसप्रति पनि ध्यान पुर्याउनुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =