वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गैंडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय भएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित नेपाल वन प्राविधिक संघको ४९ औं स्थापना दिवस र २९ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले पछिल्लो समय नेपालमा गैंडा र बाघको तस्करी बढीरहकोप्रति दुःख व्यक्त गरे । उनले वन क्षेत्रका प्रमुख चुनौति दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु रहेको बताए ।

पछिल्लो समयमा वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठूलो चुनौति देखिएको बताए । उनले चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन नसकेको पनि बताए ।

उनले चुरे क्षेत्रको वन तराई, मधेस समुदायका लागि जीवन रेखा भएको बताए । उनले मानव वन्यजन्तु द्वन्द्वले जनमानसमा वन्यजन्तु तथा वन क्षेत्रप्रति नकारात्मक प्रभाव बढ्न जाने हुँदा दिगो समाधानका लागि अध्ययन तथा अनुसन्धान र तत्काल व्यवस्थापनको खाँचो रहेको पनि बताए ।

उनले भने– ‘वन क्षेत्रका प्रमुख चुनौति भनेको यसको दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु हो । पछिल्लो समयमा वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठूलो चुनौति देखिएको छ । जलवायु परिवर्तनले वन क्षेत्रमा डढेलो तथा विभिन्न प्रकोपको वृद्धि भएका कारण वन र समुदाय जोखिममा छन् । सुदूरमा रहेका जनताले अझै वनको प्रयोग राम्रोसँग गर्न पाएका छैनन् । चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन सकेको छैन । तसर्थ चुरे क्षेत्रको वन तराई, मधेस समुदायका लागि जीवन रेखा भएकाले यसतर्फ विशेष जोड दिनुपर्छ । मानव वन्यजन्तु द्वन्द्वले जनमानसमा वन्यजन्तु तथा वन क्षेत्रप्रति नकारात्मक प्रभाव बढ्न जाने हुँदा दिगो समाधानका लागि अध्ययन तथा अनुसन्धान र तत्काल व्यवस्थापनको खाँचो छ । गैंडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय हो । वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नै नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्छ ।’

उपराष्ट्रपति यादवले वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =