हिंसामुक्त समाज निर्माणमा सबैको हातेमालो जरुरी : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लैङ्गिक हिंसा व्यक्ति, समाज वा परिवारको मात्र समस्या नभएर राजनीतिक प्रणाली, सामाजिक संरचना र देशले अवलम्बन गरेको नीतिहरूसँग जोडिएको समस्या भएको बताएका छन् ।

आजबाट सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले नेपालमा संविधानको मूल मर्म अनुसार कानून निर्माण गर्नु अत्यन्त आवश्यक भएको बताए । आज एक भिडियो सन्देश जारी गर्दै उनले भने, ‘लैङ्गिक समानताको मुद्दालाई सामाजिक न्याय, सुशासन र समृद्धिसँग अनिवार्य रुपमा जोडेर उनीहरूका लागि राज्यका तर्फबाट लगानी वृद्धि गर्ने र संविधानको मूल मर्म अनुरूप कानून निर्माण गर्दै महिला तथा बालबालिका लक्षित कार्यक्रमहरूलाई सबै क्षेत्रमा मूल प्रवाहीकरण गर्नु अत्यन्त जरुरी छ ।’

प्रधानमन्त्री दाहालले संघीय संरचना अनुसार तीन वटै तहका सरकारमा लैङ्गिक हिंसाविरुद्धका कानूनी तथा संस्थागत व्यवस्थालाई आन्तरिकीकरण र संस्थागत गरी संवेदनशील र महत्वका साथ अगाडि बढाउनुपर्ने भन्दै सबैलाई त्यसका लागि आग्रह गरे ।

लैङ्गिक हिंसा मुक्त समाज निर्माणका लागि सरकारको एकल प्रयास पर्याप्त नभएको उल्लेख गरेका उनले व्यक्ति,परिवार,संस्था,संरचना सबैमा चेतना र रूपान्तरण हुनुपर्ने उनले बताए । ‘लैङ्गिक हिंसा मुक्त समाज निर्माण सरकारको एकल प्रयासले मात्रै सम्भव छैन । व्यक्ति,परिवार,संस्था,संरचना सबैमा रूपान्तरण नहुँदासम्म प्रगतिशील चिन्तन संस्कृतिको विकास नहुँदासम्म सरकारका कार्यक्रमहरूले मात्रै समतामूलक समाजको निर्माण सम्भव छैन’ दाहालले भनेका छन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन देशैभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 7 =