दुर्गाको अभियानलाई सिफलमा कार्यक्रम गर्न अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले सिफल चौरमा विरोध कार्यक्रम गर्ने भएको छ । काठमाडौं प्रशासनले तीनकुनेमा कार्यक्रम गर्न नदिएपछि प्रसाईं समूहले आज सिफल चौरमा कार्यक्रम गरेको हो ।

काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार साँझ भएको छलफलपछि सिफलमा कार्यक्रम गर्ने सहमति भएको थियो । प्रशासनले तीनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभाव पर्ने बताएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो ।

शुक्रबार पनि तीनकुनेमै कार्यक्रम गर्ने अडान लिएका प्रसाईंका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई भने निवासमै सुरक्षा दिएर राखिएको थियो । प्रसाईँले पनि सिफल चौरमा उपस्थित हुन आफ्ना समर्थकलाई आव्हान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज तीनकुनेमा गरिने भनिए कार्यक्रम विशेष प्राविधिक कारणले गर्दा सिफल चौरमा सोही समयमा हुने भएकोले सम्पूर्ण नागरिकहरूलाई सिफल चौरमा उपस्थित हुन अनुरोध गरिन्छ । जय देश जय नागरिक !’

बिहीबार समूहले बल्खुमा कार्यक्रम गरेको थियो । शुक्रबार तीनकुनेमा गर्न भनिएको प्रदर्शन भने अनुमति नलिएको भन्दै प्रशासनले रोक लगाएको थियो । प्रदर्शनका लागि पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये पाँच जनाबाहेक सबैलाई प्रहरीले हिजै छाडेको छ । पाँच जनालाई नछाड्नुको कारणबारे प्रहरीले बताएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =