ओलीको टिप्पणी : मुर्खहरुले मात्रै राजतन्त्र मान्छन्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन् ।

राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गरे ।

शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले कतिपय देशहरुले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भएपनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसावले पनि राजतन्त्र हुनै नसक्ने तर्क गरे ।

एउटा मान्छेको छोरो जन्मिदै राष्ट्र प्रमुख हुन जन्मिने कुरा चेतना नभएका मुर्खहरुले मात्रै गर्ने ओलीको भनाई थियो । उनले बिहीवार दुर्गा प्रसाईको नेतृत्वको काठमाडौंको बल्खुमा भएको प्रर्दशनप्रति संकेत गर्दै एउटा मरेको प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिस लागेको बताए ।

ओलीले युवा संघ, नेपालको प्रदर्शनलाई भने देशलाई संकटबाट जोगाउनका लागि भएको भन्दै धन्यवाद दिए ।

उनले भने– ‘केहीकेही तत्वहरु १५ वर्ष अघि फ्याँलीसकिएका, हेर्दाहेर्दा वाक्क, ब्याक्क, दिक्क भएर जनताले पाल्न नसकिने रहेछ यो । र, यो काम लाग्ने चिजनै होइन रहेछ । राजनीतिक रुपले, वैचारिक रुपले, सैद्धान्तिक रुपले, कुनै हिसावले पनि राजतन्त्र, एउटा मान्छेको छोरो जन्मिदै राष्ट्र प्रमुख हुन जन्मिने । अरुका छोराछोरीले मरिमेटेर काम गरेपनि हुन नपाउने । यस्तो अन्यायपूर्ण विचार बोक्नेहरु । मैले पटक भने–फेरि चित्त दुखाउछन मान्छेले । मैले बोल्दाखेरी भनेँ– कित चेतनानै नभएका मुर्खहरुले राजतन्त्र मान्छन् । एउटा मान्छेको छोरा, जन्मिदै राष्ट्रप्रमुख हुन नन्मिन्छ । लाटो जन्मिन्छ कि । गजाडी जन्मिन्छ कि । ड्रगिष्ट भएर जन्मिन्छ कि । कस्तो भएर जन्मिन्छ ? लफंगा भएर जन्मिन्छ कि ? थाहा छैन । जन्मिदै राजा हुने । त्यो कुरालाई पनि मान्छु, त्यही हुनुपर्छ भन्ने कठैबरी । नागरिक सर्वोच्चता स्विकार नगर्ने । देशभरीका जनतामा सार्वभौमसत्ता भनेर मान्न नसक्ने । एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने । त्यो चेतना चेतना हो र । त्यो त मुर्खता हो नि । होला, कतिपय देशले ऐतिहासिक कारणले सम्झौता गरेको होलान । त्यो राजनीतिक सम्झौता होला । कतिपय देशले गरेका होलान । हुन सक्छ त्यो । अरु देशको मामिलामा हामी बोलिरहेका छैनौ । अरु देशका प्रणालीहरुलाई अरु देशका जनता र शासकहरुको बीचका सम्झौताहरुलाई हामीले केही भन्नु छैन । हामीले सिद्धान्तको कुरा गर्ने हो । अरु देशको हकमा हाम्रो देशमा सिद्धान्तको मात्रै कुरा होइन । व्यवहारको कुरा गरेको । हाम्रो देशमा राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले फालेका हुन । यो देशमा २० साल भन्दा अगाडिसम्म बाटोमा नबन्नुमा के कारण छ ? अनि विकास हुनै नसक्नु कारण के हो ? २४० वर्ष राजतन्त्रले खायो । अन्त शिक्षामा अगाडि, स्वास्थ्यमा अगाडि । विकासमा अगाडि, पूर्वाधारमा अगाडि सबै हुदा पनि हाम्रो देशमा किन हुन सकेन ? जंगबहादुरको शासन आयो–१९०३ मा । त्यसको सात वर्ष पछि दरबार स्कुल पहिलो पटक खुल्यो । त्यो भन्दा अगाडि राजाहरुले किन खोलेनन ? नीति के थियो ? जनता पढाउने नीति थियो ? लोकतान्त्रिक नीति थियो ? होइन–अन्धकारमा राख्नुपर्छ भन्थे । कानून थिएन । म जे भन्छु, त्यही कानून हो भन्थे । अनि राजतन्त्रले के के न ग¥यो भन्ने कहाँबाट हुन्छ ? सति प्रथा उन्मुलन गरेको राजतन्त्रले होइन । त्यति त बरु राणाले गरेका थिए । दास प्रथाको उन्मुलन राणाहरुले गरेको हो । अनि राजाले किन गरेनन ? राजाले केही पनि गरेनन । राजा भएर बस्ने, दुनियालाई दुख दिने । त्यो बाहेक के गरेँ राजाले ? अव त्यस्तो एउटा मरेको प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन । त्यस्तो बेलामा युवा संघले हामी यहाँ छौ भनेर छातिमा टाँसेर होइन, रातो टोपी लगाएर हामी यहाँ छौ भनेर मैदान उत्रेर जे ग¥यो । म तपाईहरुलाई धन्यवाद भन्न चाहन्छु । युवा संघले देश संकटमा परेको बेला संकटमा काँध थाप्ने हामी छौ है भनेर हिजो बोल्यो । धन्यवाद छ युवा संघलाई ।’

अध्यक्ष ओलीले बल्खुमा बिहीवार भएको प्रदर्शनमा ५/७ हजार मान्छे रहेको जिकिर गर्दै वर्तमान सरकार भने त्यसबाट थर्कमान भएको बताए ।

कुनै जग नभएकाले वर्तमान सरकार माग, नारा के हो ? केही पनि थाहा नभएकोहरुको प्रदर्शनबाट पनि थर्कमान भएको उनको भनाई थियो ।

अध्यक्ष ओलीले जनतालाई निराश हुन नदिने काम एमालेले गर्नुपर्ने भएकाले त्यस काममा लाग्न पनि युवा संघ, नेपाललाई सचेत गराए ।

उनले भने– ‘के हो यो सरकार ? हिजो बल्खुमा भोलि उठी कहाँ जाने ? केही थाहा छैन भन्ने खालका, कहाँ डिँडेका हुन, त्यो पनि थाहा छैन । के का लागि हिँडेका हुन ? त्यो पनि थाहा छैन । के माग हो, के नारा हो ? कहाँ पुग्ने हो, के गर्ने हो ? थाहा छैन । हाहा हुँहुँ हेर्न जान पाईन्छ रे भनेपछि हाहा हुँहु हेर्न आए । यो सरकार त्यत्तिकैमा थर्कमान छ । ५/७ हजार मान्छे यसो हेर्न आए होलान । त्यसैमा सरकार थर्कमान छ । किनभने यसको जग नै छैन । एउटा किलो गाडेको छ भने त्यो हल्लिदैन । तर यसो थेप्चोथेप्चो पारेर मात्रै राखेको छ भने हावा आउँदा पनि ढल्ला कि, कसैले छुदा पनि ढल्लाकि जस्तो हुन्छ, यो सरकार त्यस्तै हो । गठबन्धन छ, जरा छैन । यस स्थितिमा युवाहरुमा अलिक निराशा छ । र, जनतामा निराशा हुनु देशका लागि बहुत खतरनाक कुरा हो । र, म उहिलेदेखि भन्दैछु–सरकारले जनतालाई निराश पार्ने होइन । उनीहरुमा आशावादिता देखाउनु पर्छ । उनीहरुका मागलाई सम्बोधन गर्नुपर्छ । उनीहरुको आत्माविश्वास बढाउनु पर्छ ।’

अध्यक्ष ओलीले सरकारले जनतालाई निराश बनाउने काम मात्रै गरिरहेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =