प्रहरीको ज्यादती

दुर्गा प्रसाईंका समर्थकको मुख थुन्दै सरकार(भिडिओ)

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूलाई प्रहरीले ज्यादती गर्न थालेको छ ।

तीनकुने क्षेत्रमा पैदल हिँडिरहेकादेखि चिया पसल, होटेलमा बसेर खाइरहेकालाई प्रहरीले धरपकड गरेको हो । प्रशासनको अनुमति विना तीनकुनेमा आन्दोलन गर्न खोजेको भन्दै प्रहरी सर्वसाधारणमाथि नै दमन गर्न थालेको हो ।

प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा प्रदर्शन गरिरहेका छन् । तर जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रदर्शनमा सहभागी हुन तीनकुने आउन लागेका प्रसाईंलाई भक्तपुरस्थित घरमा नै रोकेको छ ।

तीनकुनेमा ४/५ जनाको समूह बन्ने बित्तेकै तत्काल नियन्त्रणमा लिने प्रहरीले रणनीति बनाएको छ । तीनकुने क्षेत्रमा अहिले पैदल यात्रा गरिरहेका सर्वसाधारण नागरिकमाथि पनि प्रहरीले सोधपुछ जारी राखेको छ । आफ्नो गन्तव्यमा हिँडेका सर्वसाधारणसमेत प्रहरीको निशानामा परेका छन् । प्रहरीसँग विवाद गर्‍यो कि उसले भ्यानमा हालिहाल्छ ।

तीनकुने क्षेत्रमा रहेका चिया पसलहरूमा समेत प्रहरीले सोधपुछ गरिरहेको छ । कतिपय अवस्थामा प्रहरीले सुरक्षाका नाममा सर्वसाधारणलाई त्रसित बनाएको छ ।

प्रहरीले तीनकुने क्षेत्रबाट २६ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको बुझिएको छ ।

गणतन्त्रमा बोल्न पाइन्न ?

विचार तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार हो । संविधानको धारा २७ ले पनि यसलाई प्रत्याभूत गरेको छ । तर यसको प्रतिरक्षाको लागि खटिनुपर्ने जिम्मेवार पक्षहरू यस हकका विरुद्ध उत्रिन्छन् भने त्यसले संवैधानिक प्रावधानलाई कमजोर तुल्याउनेछ ।

लोकतन्त्रमा कसैको विचार तथा अभिव्यक्तिप्रति असहमति प्रकट गर्न पाइन्छ तर आफूलाई मन नपर्ने विचार बोल्नै नपाउने वा बोल्नै दिन्न भन्न पाइन्न । कसैले त्यस्तो भन्छ भने त्यसलाई लोकतान्त्रान्त्रिक मूल्य र मान्यताको खिलाफ मानिन्छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध प्रहरीको दमन लोकतान्त्रिक हिसाबले पनि ठिक छैन । शान्ति सुव्यवस्थाका हिसाबले यो कसैको हितमा छैन । प्रत्येक विचार राख्न पाउने, फुल्न र फल्न पाउने हक प्रत्याभूत गर्ने विषय नै लोकतान्त्रिक शासन व्यवस्थाको एउटा विशेषताको रूपमा लिइन्छ । त्यसरी अभिव्यक्ति गरिएका शासन व्यवस्थाविरुद्ध नै किन नहोस्, शान्तिपूर्णता भेला भएर त्यसलाई राख्न दिनुपर्दछ र राख्न पाउनुपर्दछ ।

अहिलेको शासन व्यवस्थामा विकृति–विसङ्गतिहरू प्रशस्तै छन् । राज्य संयन्त्रमा बिचौलियाको पकड मौलाएको र भ्रष्टाचारले जनताको जीवन कष्टकर बन्दै गएको छ । नेपालमा भविष्य नभएको भनी प्रत्येक दिन हजारौँ युवाहरू बिदेसिनुपरेको छ । यस्तो अवस्थामा व्यवस्था विरोधको आन्दोलनमा दुर्गा प्रसाईँ मात्र होइन, व्यवस्थाका पक्षधरहरू पनि उत्रिनुपर्ने स्थिति छ । यस्तो अवस्थामा संविधानको उपलब्धिको बलियो कार्यान्वयन, राज्य संयन्त्रलाई जनमुखी, जनताका पिर मर्काप्रति संवेदनशील बनाउने, सेवा प्रवाहलाई चुस्त बनाउने कार्यले मात्र व्यवस्थालाई बलियो बनाउनेछ ।

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *