प्रशासनले रोकेपछि दुर्गाको आक्रोश- घरघरबाट विद्रोह गर्नुस्, नत्र तपाईँहरूलाई सिद्धाउनेछन् (भिडिओ)

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले घरघरबाट विद्रोह गर्न आग्रह गरेका छन् । काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्न प्रशासनले रोकेपछि उनले अब घरघरबाट विद्रोह गर्न आग्रह गरेका छन् ।

अबपनि नउठे राज्यसत्ताले सबैलाई सिद्धाउने उनको तर्क छ । ‘आज काठमाडौँ उपत्यकामा कहीँ पनि कार्यक्रम गर्न नदिने र हाम्रा साथी भाइहरूलाई धेरै धरपकड गर्ने, यातना दिने काम गरेको हुँदा तपाईँहरू जहाँ हुनुहुन्छ त्यहीबाट उठ्नुस्,’ उनले मकालुखबरसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘अब घरघरबाट उठ्नुस् घरघरबाट विद्रोह गर्नुस्, झापादेखि कैलाली कञ्चनपुरसम्म बजार बन्द गर्नुस्, यो अभियान तपाईँहरूको लागि हो । आम नेपाली जोगाउने अभियान हो । नागरिक जोगाउने अभियान हो, नभए तपाईँहरूलाई सिद्धाउने छन् घरघरमा दमन गरेर ।’

‘राष्ट्र बचाउ महाअभियान’का अभियन्ता प्रसाईँले तीन दिनअघिमात्रै काठमाडौँको प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा कार्यक्रम गर्न दिने बचन दिएको खुलासा गरे । ‘आज एकाएक नदिए भनेर बहाना गरेको छ । गणतन्त्रमा त्यो गर्न पाइन्छ कि गर्दैन ?,’ उनले अगाडि भने, ‘मलाई सिडिओले तीन दिन अगाडि फोन गरेर के भनेको थियो भने( तपाईँहरू बल्खुमा गर्नुस्, युवा संघले तीनकुनेमा गर्छ ७ गते एक दिनमात्रै हो । ८ गतेदेखि तपाईँहरू तीनकुनेमा गर्नुस् भनेर भनेका थिए ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको छ । बिहीबार बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले आज तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेपछि काठमाडौं प्रशासनले सूचना जारी गर्दै तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको प्रष्ट पारेको हो ।

यो पनि : दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न प्रशासन दिएन अनुमति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 10 =