पदयात्रापछि सडक आन्दोलन गर्ने अध्यक्ष ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानपछि आन्दोलन गर्नुपर्ने आवश्यकता महसुस भएको बताएका छन् ।
देश सङ्कटमा परेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता आफूले देखेको ओलीले बताए ।
पार्टी केन्द्रीय कमिटीको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘अभियानपछि आन्दोलनकारी ढङ्गले अगाडि बढ्नुपर्ने आवश्यकता देखिरहेको छु ।’
यही मङ्सिर १४ गतेदेखि दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ नाम दिएर एमालेले अभियान सुरु गर्दैछ ।
आन्दोलनका केही सर्त रहेको भन्दै ओलीले भने, ‘हामी हिंसाको बाटो हिँड्दैनौं । शान्तिको बाटोबाट, जनपरिचालनको बाटोबाट हिँड्छौं । जनताको बल प्रयोग गर्ने भनेका छौं, हिंसाको बाटोबाट होइन ।’
त्यसपछि लिडरसिपको विभिन्न तहमा छलफल गर्ने एउटा सही र सर्वसम्मत निष्कर्षका साथ मैदानमा उत्रिने ओलीले बताए ।
देशलाई निकास दिने बाटो एमालेले नसमातेमा अरुले त्यो रिक्ततालाई पूरा गर्ने बताउँदै ओलीले भने, ‘हेर्दाहेर्दै कसैका खल्तीबाट भुर्र परेवा उडाउन सक्छ है । जादु गर्दिए जस्तो गर्न सक्छ, चटक गर्दिएजस्तो गर्न सक्छ ।’








