पोखराको युनिक होटलमा अचेत भेटिएकी महिलाको मृत्यु, शंकास्पद ६ जना पक्राउ

पोखरा । मंगलबार पोखराको नागढुंगास्थित एक होटलमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ ।
नागढुंगास्थित युनिक होटलमा तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक मंगलबार साँझ करिब ७ बजे अचेत अवस्थामा फेला परेकी थिइन् ।
सोही ठाउँकै शिला रेस्टुरेन्टमा २ वर्षदेखि काम गर्दै आएकी विकको अचेत अवस्थामा होटलबाट उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको प्रहरी स्रोतले बताएको छ ।
उनको उपचारकै क्रममा साँझ करिब साढे ७ बजे मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद रहेको खुलेको छ ।
उनले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
प्रहरीका अनुसार दिउँसो विक र एक जना पुरुष होटलको कोठामा प्रवेश गरेका थिए । कोठामा प्रवेश गरेको केही समयमै पुरुष बाहिरिएको र महिला साँझसम्म ननिस्किएपछि होटल सञ्चालकले खोजी गर्दा अचेत अवस्थामा फेला परेका थिइन् ।
‘होटलमा सीसीटीभी क्यामेरा पनि छैन । कोठा बुक गर्दा कुनै परिचयपत्र पनि राखिएको थिएन रहेछ’, प्रहरी स्रोतले भन्यो, ‘होटलको सुरक्षा विधि अपनाइएको छैन । यसबारे पनि अनुसन्धान हुँदैछ ।’
विकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको कास्की प्रहरीले जनाएको छ । यो घटना अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।








