चिहानमा गइसकेको राजसंस्था बोक्ने दुर्गा प्रसाईँबाट लघुवित्तिय समस्या हल असम्भव : अध्यक्ष ज्ञवाली

काठमाडौँ । लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले अभियन्ता दुर्गा प्रसाई राजसंस्थाको मुद्दा त्याग्न तयार भए आफूहरू उनीसँग सहकार्य गर्ने बताएका छन् ।

मंगलबार राजधानीको संवाद डबलीमा संघर्ष समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष ज्ञवालीले राजतन्त्रको मुद्दा बोक्ने प्रसाईँबाट वित्तीय अराजकताबाट पीडित जनताले मुक्ति नपाउने ठोकुवासमेत गरेका छन् ।

अध्यक्ष ज्ञवालीले २०४२ सालमा राजतन्त्रले खुल्ला अर्थतन्त्र र निजीकरणको नीति ल्याएर देशमा आर्थिक अराजकता निम्त्याएको बताउँदै पुनः त्यही तन्त्रबाट समस्या हल हुने भन्दा झन् बिग्रने जिकिर गरे ।

बैंक, सहकारी तथा लघुवित्त पीडित जनताको सहानुभूति लिएर राजतन्त्र फर्काउने प्रसाईँको द्वैद चरित्रसहितको सपना पूरा नहुने उनको जिकिर छ ।

आफूहरूले प्रसाईले उठाएका राजतन्त्र बाहेकको वित्तीय अराजकता विरोधी मुद्दालाई समर्थन गरेको र सहकार्य पनि गर्न तयार रहेको बताउँदै उनले भने, ‘दुर्गा जी जनताको पीडक राजसंस्थाको मुद्दा त्यागेर आउनुस् भोलिबाटै हामी हातेमालो गर्न तयार छौं, तर तपाई पीडितको फेरो समाएर चिहानको कंकाललाई जीवित पर्ने सोच त्याग्नुस् ।’

अहिलेको गणतन्त्रले समस्या हल किन नगरेको भन्ने प्रश्नको जवाफमा ज्ञवालीले भने, ‘राजतन्त्र फालेर बल्ल बोल्ने र आन्दोलन गर्ने अवसर मिलेको छ, यही आन्दोलनबाट सरकारले सम्बोधन गर्नेमा हामी विश्वस्त छौं ।’

सो संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले आफूहरूको नारा बेचेर प्रसाईंले राजसंस्था ल्याउने आधार बनाउन लागेको भन्दै आक्रोश व्यक्त गरे ।

आफूहरूले २२ महिना देखि आन्दोलन गर्दै आएको मुद्दा उठाएर प्रसाईंले सङ्घर्षलाई डाइभर्ट गर्न लागेको आरोप लगाउँदै भने, ‘ठूलो त्याग गरेर सामान्ति राजतन्त्र फल्यौँ पुनः त्यसैको पुनस्थापना गर्न पीडित जनतालाई भ्रमित पार्दै वितण्डा मच्चाउने उनको सपना पूरा हुनै सक्दैन ।’

सो संघर्ष समिति सुदूरपश्चिम प्रदेश इन्चार्ज मणि प्रसाद चौलागाईले आफूहरूको र दुर्गा प्रसाईँको आन्दोलनमा आकाश–पातालको अन्तर रहेको धारणा राखे ।

चौलागाईले सरकारले वित्तीय माफियाहरूलाई कारबाही गर्न नसके आफूहरूले सडकबाट कारबाही गर्ने चेतावनी समेत दिए ।
कर्णाली प्रदेश संयोजक आशा सञ्जेलले लघुवित्तिय संस्थाहरूको अराजकता गाउँगाउँ पुगेर उठिबास लगाउन थालेकाले सरकारले छिटो भन्दा छिटो निकास दिन पर्ने धारणा राखिन् ।

समितिका विदेश विभाग प्रमुख गगन बहादुर विकले देशमा लघुवित्तहरूको ज्यादतीको कारण हजारौँ दिदी–बहिनीहरू विदेश गएर झन् दुःख पाइरहेकोले अब विदेशबाट पनि झिकाएर संघर्ष गर्ने चेतावनी दिए ।

केन्द्रीय सचिव तथा वार्ता कमिटी संयोजक रमेश तामाङले नयाँ सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्दै फागुन १ गतेदेखि काठमाडौं केन्द्रित अनिश्चितकालीन धर्ना तथा विरोध कार्यक्रम गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 1 =