अर्थतन्त्रको संकट बारे बालुवाटारमा अर्थमन्त्री र गभर्नरसहित विज्ञसँग प्रधानमन्त्रीको छलफल


सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्नेबारेमा छलफल गरेको छ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा प्रधानमन्त्री पुृष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद शर्मा लगायतका सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरी अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिइएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको समस्या छिटो र छरितो रुपमा समाधान गर्ने बारेमा छलफल भएको बताए। उनले अर्थतन्त्रलाई अझ चलायमान गर्नको लागि सुझाव लिन मंगलवार सिंहदरबारमा पुनः बैठक बस्ने पनि बताएका छन्।
उनले बैठकमा आफूले आन्तरिक संरचनाका उपलब्धि, चुनौति र कार्यदिशा प्रश्तुत गरेको बताए । उनले अर्थतन्त्रका बारेमा प्रधानमन्त्री र गभर्नरले पनि आफ्ना धारणा राख्नुभएको र मंगलवारको बैठकमा निजी क्षेत्रसँग पनि छलफल हुने बताए। उनले देशको अर्थतन्त्रले लय समातिरहेको र वाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदे गएको बताए।
उनले भने, ‘अर्थतन्त्रको समस्या जुन छन् ती समस्यालाई पनि कसरी समाधान गर्ने भन्ने बारेमा छलफल भयो । कसरी छिटो र छरितो रुपमा समाधान गर्न सकिन्छ, त्यसबारेमा पनि आन्तरिक रुपमा छलफल ग¥यौँ । साथै समग्र अर्थतन्त्रलाई अझ चलायमान गर्नको लागि अरु के सुझाव, सल्लाह लिनसकिन्छ त्यो पनि गरौँ भनेर भोलि २ बजे प्रधानमन्त्री कार्यालयमा बैठक राखिएको छ । त्यसमा निजी क्षेत्र र विज्ञहरुको सुझाव लिने भन्नेबारेमा छलफल हुनेछ। आज आन्तरिक संरचनामा के उपलब्धि भयो, के चुनौति र कार्यदिशा करी अघि बढीरहेको छ भन्नेबारेमा मैले आफ्नो कार्यदिशा प्रश्तुत गरेँ । गर्भनर र अन्य सम्बन्धित पक्षले कुरा राख्नुभयो । प्रधानमन्त्रीले पनि कुरा राख्नुभयो । समग्रमा हाम्रो अर्थतन्त्रले लय पक्डिँदै गरेको छ । वाह्य विप्रेषण पर्यटक आगमन, शोधनान्तरको स्थितिमा हामी बेस्ट सिच्वेशनमा छौँ । आन्तरिकतर्फ केही शिथिलता थियो, त्यसमा पनि छलफल भयो । अर्थतन्त्रलाई अझ चलायमान बनाउन गर्ने कुरामा अझै समय लाग्छ, चुनौति छ । तर छिटो भन्दा छिटो चलायमान बनाएर रोजगारी कसरी सिर्जना गर्ने भन्ने बारेमा छलफल भयो । ऋण लिएकाहरुले ऋण तिर्नुपर्छ । तर त्यसलाई कसरी सहज र समय दिने भन्ने बारेमा छलफल गरेका छौँ ।’
अर्थमन्त्री महतले अर्थतन्त्र छिटो भन्दा छिटो चलायमान बनाएर देशमा थप रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा पनि छलफल भएको बताए।
