काठमाडौँमा छठ पर्वको तयारी पूरा (भिडिओ)

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।

तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठ पर्वको अवसरमा आज काठमाडौँका विभिन्न छठ पर्व मनाउने घाटहरूमा छठ पर्वको तयारी पूरा भएको छ ।

आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य दिइन्छ र सोमवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ विधिपूर्वक सम्पन्न हुन्छ । व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन् । छठ पर्वको लागि काठमाडौँका विभिन्न छठ घाटको तयारी अन्तिम चरणमा पुगेको छ ।

छठको दोस्रो दिन शनिवार खरना विधि सम्पन्न भएको थियो । चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन व्रतालुले इष्टदेवको पूजा आराधना गरी खरना विधि सम्पन्न गर्ने परम्परा छ । छठ पर्वको मुख्य दिनमा आज काठमाडौँको कमल पोखरी, थापाथली, गौरीघाट लगायतका स्थानमा छठ मनाउनेहरूको रौनक छ । छठका लागि काठमाडौँको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ ।

काठमाडौं कमलपोखरी छठ पूजा समाजका सल्लाहकार चन्द्रशेखर सिंहले काठमाडौँको कमलपोखरीमा छठका लागि सबै काम सम्पन्न भएको बताए । उनले अहिले नेपाली सेना, जनपथ प्रहरी र महानगर प्रहरीले सुरक्षा दिइरहेको र स्वास्थ्य शिविर पनि सञ्चालनमा राखिएको बताए ।

उनी भन्छन्, ‘तयारी सबै पूरा भइसकेको छ । जनपथ प्रहरी, नेपाली सेना, महानगर प्रहरी आएर सबै सुरक्षा दिनुभएको छ । स्वास्थ्य शिविर, सुरक्षा प्रबन्ध सबै रहेको छ ।’

नेपालको तराईमा आज छठ पर्वको अवसरमा उल्लासपूर्ण माहौल रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =