ऐतिहासिक ‘कार्तिक नाच’ सुरु (तस्बिरहरू)


ललितपुर । वि.स. १६९७ मा सुरु भएको ऐतिहासिक कार्तिक नाच यही मंसिर २ गते शनिबारबाट सुरु भएको छ ।
हिन्दु देवता भगवान् विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको यो ऐतिहासिक नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार तत्कालीन दरबार चोकभित्र रहेको भगवान् श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भएको उत्सव मनाउन पहिलो पटक सुरु गरेको इतिहासमा उल्लेख छ ।
कार्तिक नाच हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने नृत्य अनि संगीतमा आधारित भएर देखाइने नृत्य नाटक हो । यो नाच पाटन दरबार स्क्वायरमा अवस्थित कार्तिक डबलीमा मञ्चन गरिन्छ । सुरुमा यो नाच राजा सिद्धिनरसिंह मल्लले दुई दिनको लागि नाशल चोकमा देखाएर यसको सुरुवात गरेका थिए । तर पछि उनका छोरा श्री निवास मल्लले यसलाई सात दिन देखाउन थाले ।
यसै गरी श्री निवास मल्लका छोरा राजा योग नरेन्द्र मल्लले यसलाई १५ दिन सम्म मञ्चन गर्न थाले । अहिले भने यो नाच बढीमा १ महिना सम्म नचाइन्छ । कार्तिक नाच सुरुमा ‘बाथः प्याखँ’ बाट सुरु हुन्छ । यो तीन दिनसम्म देखाइन्छ । त्यसपछि भगवान् विष्णुको विभिन्न कथाहरूमा आधारित नाचहरू प्रस्तुत गरिन्छ ।
तत्कालीन समयमा देशमा शान्ति, समृद्धि र मनोरञ्जनको हेतुले यो नाच सुरु भएको मानिन्छ । कुनै समय कार्तिक महिनामा २७ दिन अर्थात् महिना दिनसम्म देखाइने हुँदा यो नाच कार्तिक नाचको नामले परिचित भएको हो ।
यस वर्ष कार्तिक नाच मंसिर २ गते देखि ११ गते सम्म १० दिन पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा मञ्चन हुनेछ । परापूर्वकालमा कार्तिक महिनाभर मनाइँदै आएको उक्त नाच पछिल्ला वर्षहरूमा विविध कारणले गर्दा केही दिन मात्र देखाउन थालिएको छ ।
हेर्नुहोस् तस्बिरहरू :
