नेपालमा जलवायु परिवर्तनको असर न्युनिकरणमा ध्यान दिन विश्व समुदायलाई प्रधानमन्त्रीको अपिल

काठमाडौं । अपिल प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण नेपालमा परेको असर न्युनिकरणका लागि ध्यान दिन विश्व समुदायलाई अपिल गरेका छन् ।
नेपाल पर्वतारोहण संघले शनिवार विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर, कालकापत्थरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो अपिल गरे ।
प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणबाट आफूले जलवायु परिवर्तनले नेपालमा पारेर नकारात्मक असर न्यूनिकरणका लागि जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८ औं सम्मेलन –कोप–२८) बाट ठूलो सहयोग प्राप्त हुने अपेक्षा गरिएको पनि बताए ।
उनले नेपालमा जलवायु परिवर्तनका पारेका असरबारे सो सम्मेलनमा स्पष्ट कुरा राख्ने पनि बताए ।
प्रधानमन्त्री दाहालले भने– ‘सगरमाथा अगाडि उभिएर मैले एउटा सन्देश दिनुछ–सिंगो देशको प्रतिनिधित्व गर्दै मैले विश्व समुदायलाई अपिल गर्न चाहन्छु । जलवायु परिवर्तनको असर न्यूनिकरणको निम्ति विश्व समुदायको ध्यान जाओस् । छिट्टै कोप २८ जलवायु परिवर्तन सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हँदैछ । त्यसमा पनि जसरी केही समय पहिले संयुक्त राष्ट्र संघका महासचिव समेत आएर यस क्षेत्रको अवलोकन गर्नुभएको छ । जलवायु परिवर्तनको नकारात्मक असरलाई प्रत्यक्ष देख्नुभएको छ । मलाई लाग्छ–त्यो कोप २८ मा नेपालको विषयमा, यहाँको हिमालको संरक्षणको निम्ति, जलवायु परिवर्तनको असर कम गर्नका निम्ति ठूलो सहयोग हुने अपेक्षासहित फेरि यो अविष्मरणीय कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद भन्दै विदा हुन चाहन्छु । ’
सो अवसरमा प्रधानमन्त्री दाहालले खुम्बु क्षेत्रको विकास तथा विस्तार, सगरमाथाको सफाई र सुरक्षाको कामलाई प्रभावकारी बनाउनका लागि आवश्यक कार्यविधि बनाउने आश्वासन समेत दिए ।
उनले कालापत्थरमा झण्डोत्तलन पनि गरे ।








