मकालु विशेष

ठूला चाडपर्वमा समेत भएन व्यापार, व्यवसायीहरु पलायन हुने अवस्थामा

दसैँ–तिहारमा समेत व्यापार नभएपछि व्यापारीहरू निराश भएका छन् । उनीहरू पसल छोड्ने अवस्थामा पुगेका छन् । एउटा सटरको मासिक भाडा २० हजारदेखि ५ लाखसम्म रहेको व्यवसायीहरू बताउँछन् । तर, पसलमा बहनी पनि हुँदैन । फेरि सटर भाडा मात्र नभई कोठा भाडा पनि तिर्ने पर्यो ।
एकातिर सटर भाडाको टेन्सन, अर्कोतिर कोठा भाडाको चिन्ता । योसँगै बालबालिकाको पढाई, खाद्यान्नलगायत दैनिक खर्च पनि हुने गर्छ । अनि व्यापार नै नभएपछि कसरी खचै जुटाउने ? काठमाडौँ उपत्यकाका अधिकांश ठाउँमा दर्जनौँ सटर खाली रहेको पाइन्छ ।

जसोतसो पसल सञ्चालन गरिरहेका व्यवसायीहरू पनि टिक्नै नसक्ने अवस्था आएको बताउँछन् । बजारमा यस्तो आर्थिक मन्दी आएको र मुलुकको अर्थतन्त्र नाजुक भएको भनेर कहिले सुन्न नआएको तर अहिले आफ्नै आँखाले देखिरहेको वृद्धाहरू बताउँछन् । बजारमा कोठा र फ्ल्याट पनि त्यत्तिकै खाली छन् ।
बाटोमा हिँड्दा घरधनीहरू महिनौँदेखि भाडा नदिएको भन्दै डेरावालासँग झगडा गरिरहेको पनि प्रशस्तै सुनिन्छ र देखिन्छ । अहिले व्यापारी भन्छन्, ‘बहनी हुँदैन अनि कसरी भाडा तिर्नु ?’ यता, डेरावालाहरू कम गरेको ठाउँबाट तलब नआएको भाडा तिर्न नसकेको बताउँछन् ।

काठमाडौँ स्थित नयाँ बानेश्वर, चाबहिल, गौशाला, जोरपाटी, चक्रपथ, नयाँ बसपार्क, बल्खु, कंलकी, ललितपुर, भक्तपुर लगानखेललगायत ठाउँमा खाली सटर पाउनै मुस्किल हुन्थ्यो । एउटा खाली सटर दश लाखदेखि ५० हजारमा बिक्री हुन्थ्यो । अहिले यी ठाउँमा यत्तिकै सटर खाली छन् ।

जताततै टुलेट लेखिएको पोस्टर देखिन्छ । बजार पूरै मन्दीमा छ । व्यापारीहरूको भोक र निन्द्रा हराइसक्यो । घरधनीहरू पनि घर खाली हुन थालेपछि चिन्तित भएका छन् । बैंकको ऋण तिर्न नसकेर तनाव बढेको छ । बैंकले पत्रिकामा तीन पुस्ते निकालिसक्यो त कालोसूची राख्न पनि प्रक्रिया अघि बढाइसकेको छ ।

अहिले बजारमा सटर लिएर व्यापार गर्ने कोही छैन । उल्टो सटर छोड्नेको संख्या बढ्दो छ । घर भाडामा नगएपछि बेच्छु भन्दा पनि बिक्दैन । केही दिनअघि काठमाडौँको हाडीगाउँस्थित एक व्यापारी तीन वर्षअघि पाँच करोडमा किनेको साढे दुई तल्ले घर अहिले बेच्छु भन्दा साढे दुई करोडमा समेत बिक्री नभएको भन्दै गुनासो गर्दै थिए ।

यो हाडीगाउँमा मात्र होइन, सार्वजनिक स्थल, चिया पसल, बसलगायतमा पनि मानिसहरू एक आपसमा घरजग्गा बिक्री नभएको कुरा गरिरहेका हुन्छन् । अहिले सटर लिएर पसल गरिरहेका तथा कोठामा बसिरहेकाहरू भाडा तिर्न नसकेकाले घरधनीलाई नै सामान छोडेर गाउँघर फर्किने तयारी गरिरहेको बताउँछन् ।

होलसेल व्यापारीहरू पनि सामान बिक्रीमा गिरावट आएको बताउँछन् । लत्ताकपडा, जुत्ता, ब्युट्री पार्लर, कस्मेटिक, हार्डवेयर पसललगायत व्यापारीहरू बहनी हुनै छोडेको जनाउँछन् ।

जनतासँग पैसा छैन अनि कसले सामान किन्छ । अहिले बेरोजगारी, महँगी र गरिबी दिनप्रति दिन बढ्दो छ । उपत्यकामा विभिन्न कारणवश बस्दै आएका समेत भाडा तिर्न नसकेपछि दसैँ–तिहार मान्न गाउँघर गएको बहानामा कतिपय भने फर्किएनन् ।

वडा र नगरपालिकामा घरधनीहरू डेरावालले भाडा नतिरेको र गाउँबाट पनि नफर्किएको भन्दै घर खाली गराउन माग गर्दै गएको पनि देखिन्छ । कतिपय डेरावालले महत्त्वपूर्ण सामान आफूसँग राखेर अन्य सामान घरधनीलाई छोडेको सुनिन्छ । कतिपय त राति नै सामान लिएर फरार भएको पनि सुनिन्छ ।

राजधानीको इन्द्रचोक, असन, भोटाहिटी, क्षेत्रपाटी, वसन्तपुर, न्यूरोडलगायत स्थल सबैभन्दा बढी भिडभाड हुने ठाउँमा पर्छ । तर, त्यहाँकै व्यापारीमा उदासीनता देखिन्छ । मानिसको चहलपहल बढेपनि व्यापार भने नभएको व्यवसायीहरूको ठम्याई छ । अहिले यी क्षेत्रमा पनि सटरहरू यत्तिकै खाली देखिन्छन् ।

खासाबाट कपडा ल्याएर महाबौद्धमा व्यापार गर्नेहरू पनि पलायन हुँदै गएका छन् । उपत्यका (काठमाडौँ–ललितपुर र भक्तपुर) का बजार क्षेत्र तथा गल्ली गल्लीमा कोठा, फ्ल्याट र सटर खाली रहेको भेटिन्छ । बाहिरी जिल्लाका सदरमुकाममा पनि धेरै कोठा र सटर खाली भएको सुनिन्छ । अधिकांश त भाडा तिर्न नसकेर नै पलायन भएका छन् ।

यसपालिको दसैँमा खसी, बोका, च्यांग्रा, कुखुरा, राँगालगायत बिक्री कम भयो । बजारमा भएको मन्दीको प्रभाव मासुमा समेत पर्यो । त्यस्तै, तिहारमा पनि फूल, भाइमसाला, मिठाइ, फलफूल विगत वर्षमा जस्तो बिक्री भएन । सर्वसाधारण भन्छन्, ‘पैसा नै छैन अनि कसरी किनेर खानु ? व्यापारीले सित्तैमा त सामान दिदैनन् ?’

डण्डी, सिमेन्ट, गिट्टी, बालुवा, इट्टा, रोडा व्यवसायीहरू पनि व्यापार घटेको बताउँछन् । बजारमा जग्गा किनेर घर बनाउने एक जना छैन । उल्टो घरधनीहरू घर बेच्न कसेर लागिपरेका छन् । मजदुरी गर्दै आएका पनि काम नपाएपछि आफ्नै गाउँ फर्किएका छन् ।

मालपोत, यातायात कार्यालयलगायत अत्याधिक भिडभाड हुने सरकारी कार्यालय सुनसान देखिन्छ । राहदानी विभागमा भने मानिसहरूको लाम देखिन्छ । ५९ लाख सेयर लगानीकर्तालाई मर्नु कि बाँच्नु भएको छ । चार हजार कित्तामा किनेको सेयर अहिले ४ सय रुपैयाँमा झर्दा उनीहरूलाई हाँस्नु कि रुनु भइरहेको छ ।

गाडी र घरजग्गाको पनि अवस्था यस्तै छ । ३० लाखमा किनेको सवारीसाधन अहिले पाँच लाखमा बिक्री हुन्न । निजामती सेवाबाट अवकाश प्राप्त कर्मचारीहरू सरकार पेन्सन र तलब दिन नसक्ने अवस्थामा पुगेको भन्दै आफूहरूको पनि बिजोग हुने बताइरहेका हुन्छन् ।

त्यस्तै, ज्येष्ठ नागरिकहरू भत्ता लिन जाँदा अन्तिम भत्ता यही त हुने होइन भनेर कुरा गरिरहेको भेटिन्छन् । जनप्रतिनिधिहरू पनि तर्सिएका छन् । आफूहरूलाई कालोमोसो दलेर सर्वसाधारणले देश निकाला गर्ने डर उनीहरूमा छ ।

अहिले कतिपय वडाध्यक्ष, मेयर, सांसदले राज्यबाट उपलब्ध सेवा सुविधा र तलब भत्ता फिर्ता गर्न थालेका छन् । तर, जनता अब भ्रममा पर्ने छैनन् । किनकि जनताले कर्मचारीहरूको असली रूप देखिसकेका छन् ।

जनता भन्छन्, ‘सरकारी कर्मचारी, जनप्रतिनिधि र राजनीतिक दलका नेताले देश सिध्याए ।’ आम नागरिकले राज्यलाई कर तिर्न कम गर्न थालेका छन् ।

०४६ सालमा मुलुकमा पञ्चायती व्यवस्था हट्यो र बहुदलीय व्यवस्था आयो । बहुदलीय व्यवस्था आएपछि राप्रपाले विरोध गर्न थाल्यो । तर, जनताले राप्रपाको हरेक विरोध कार्यक्रम असफल बनाए ।

बहुदलीय व्यवस्थामा पनि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द्र नै प्रधानमन्त्री बने । जबकि पञ्चायती व्यवस्थामा समेत यी दुवै प्रधानमन्त्री बनेका थिए । अहिले मुलुक विदेशी ऋणको च्यापिएको छ । प्रत्येक नेपालीको टाउकोमा लाखौँ विदेशी ऋण छ । बेरोजगारी, गरिबी र महँगी ह्वात्तै बढेको छ ।

यसले गर्दा मुलुकमा लोकतन्त्र गणतन्त्र उपयुक्त छैन भन्दै राप्रपाले फेरि पनि राजाको आवाज उठाउन थालेको छ । राजावादीहरू राजनीतिक दल र सरकारी कर्मचारीले देश विदेशीलाई बेचिसकेको आरोप लगाउँछन् ।

त्यस्तै, व्यवसायी दुर्गा प्रसाईँले पनि हिन्दु राज्य र राजतन्त्र व्युताउँन यही मंसिर ७ गते जनतालाई सडकमा उत्रिन आह्वान गरिसकेका छन् । नेकपा एमालेले पनि आफ्ना कार्यकर्तालाई मंसिर ७ गते माइतीघर मण्डलामा देश बचाऊ अभियानमा भेला हुन आह्वान गरिसकेको छ ।

प्रसाईँको सडक आन्दोलनको परिणाम भने हेर्न बाकीनै छ ।

०४६ सालपछिको एमाले पटक–पटक सरकारमा गयो । तर, काम भने देख्न र महसुस लायक केही गर्न सकेको देखिँदैन ।

साथै, नेपाली कांग्रेसलाई नेपालको पूजीबादी पार्टीको रूपमा हेरिन्छ । पटक पटक सरकारमा गएता पनि केही आशालाग्दो काम छोडौँ आफ्नै पार्टीको लडाइमा हराएको देखिन्छ । भने, माओवादी केन्द्र र साना दलको त झन् कुरै नगर्दा हुन्छ । जो परिवर्तनको नाममा आन्तरिक द्वन्द्व र भ्रष्टाचारमा लिप्त देखिन्छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको भने हामीले देख्न बाकीनै छ ।

जनतालाई भ्रममा राखेर अझै कमाउनतिर लिप्त पार्टीको कुरा सुन्न छाडेर जनता एक जुट हुनुको विकल्प देखिन्न । अब सर्वसाधारण जनता पार्टीगत नभएर देशको लागि सडकमा आउनुपर्छ ।

यस्ता दलाली र भ्रष्टाचारीको पछि लाग्नुहुन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *