जाजरकोट भूकम्प

भूकम्पबाट २६ हजार ५५७ घर ध्वस्त, रुकुम पश्चिममा धेरै

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते राति गएको विनाशकारी भूकम्पबाट २६ हजार ५०० भन्दा बढी घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।

गृह मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार भूकम्पबाट २६ हजार ५५७ वटा घरमा पूर्ण क्षति भएको पाइएको छ ।

छिमेकी जिल्ला रुकुम पश्चिममा सबैभन्दा बढी घर ध्वस्त भएको देखिएको छ । जहाँ १६ हजार ५७० घर पूरै ध्वस्त भएको विवरण उल्लेख छ ।

जाजरकोटमा मात्रै ९ हजार ७९४ वटा घरमा पूर्ण रुपमा क्षति पुगेको पाइएको छ ।

यसैगरी सल्यानका १५१, रोल्पाका २५, रुकुम पूर्वका ९, जुम्लाका ५ तथा बैतडी र कालीकोटका १–१ वटा घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।

त्यस्तै ३५ हजार ४५५ वटा घरमा आंशिक क्षति पुगेको विवरण उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै जाजरकोटमा भएको पाइएको छ । त्यहाँका २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ ।

त्यसैगरी रुकुम पश्चिमका ९ हजार ९६१ घरमा आंशिक क्षति पुगेको पाइएको छ ।

कतिपय घर ३ दिनपछि फेरि आएको अर्को भूकम्पले भत्किएका थिए ।

भूकम्पबाट जाजरकोट र पश्चिम रुकुममा गरी १५४ जना मानिसको मृत्यु भएको छ भने ३३६ जना घाइते भएका छन् ।

यसअघि गृहले गत कात्तिक २२ गते विवरण सार्वजनिक गरेको थियो । जसमा १५३ जनाको मृत्यु भएको विवरण थियो ।

शनिवार सार्वजनिक भएको विवरणमा १ जना बढी मानिसको मृत्यु भएको पाइएको छ ।

हेर्नुहोस् विवरणः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 17 =