सरकारको भविष्यबारे प्रचण्डलाई कसको डर ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय सरकारको भविष्यलाई लिएर टिप्पणी गरिहन्छन् । सार्वजनिक कार्यक्रममा नै आफ्नो कार्यकालको टुंगो नरहेको बताउँदै आएका हुन् ।
शनिबार नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी’ अभियानको कीर्तिपुरमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारको सरकारको स्थायित्वबारे अभिव्यक्ति दिएका थिए । ‘कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छ, त्यो मुख्य कुरा होइन । मुख्य कुरा सुशासन सामाजिक न्याय र समृद्धिका पक्षमा हामीले कति राम्रो काम सुरु गर्छौँ त्यो मुख्य कुरा हो,’ प्रधानमन्त्रीले भनेका थिए, ‘म सरकारको नेतृत्वमा रहँदा राम्रो कामको सुरुआत गर्न चाहेको छु ।’
त्यसअघि उनले माओवादी शान्ति प्रक्रियामा आएपछि आफूले चुनाव लडेका दुवै निर्वाचन क्षेत्रमा आफू दुई दिनको अन्तरालमा पुगेको भन्दै आगामी विसं २०८४ सालको निर्वाचनमा पार्टीको अवस्था सुधार्न नेता र कार्यकर्तालाई आग्रह गरे । गत शुक्रबार रोल्पाको लिवाङमा पार्टीको सभालाई सम्बोधन गरेका प्रचण्ड शनिवार तत्कालीन काठमाण्डू निर्वाचन क्षेत्र नं १० अन्तर्गत पर्ने कीर्तिपुर पुगेका हुन् । प्रचण्डले विसं २०६४ सालको पहिलो संविधानसभाको निर्वाचन कीर्तिपुर समेत समेटिएको काठमाडौँ-१० र रोल्पा-२ दुवै स्थानबाट निर्वाचित भएका थिए ।
प्रचण्डको सरकार फेरबदलको कुरा उठेको हो त ? उनका प्रमुख सल्लाहकार हरिबोल गजुरेल प्रचण्डको अभिव्यक्तिका पछाडि कुनै राजनीतिक घटनाक्रम नरहेको दाबी गर्छन् । ‘काम गरिहाल्नुपर्छ भन्ने सन्दर्भमा त्यस्तो कुरा आएको होला । अहिले त्यस्तो परिस्थिति भएर बोल्नुभएको होला,’ उनले भने ।
तर यसअघि प्रचण्ड प्रधानमन्त्री रहँदा उनको प्रमुख राजनीतिक सल्लाहकार रहेर काम गरिसकेका पूर्व मन्त्री चक्रपाणि खनाल प्रचण्डको यस्तो अभिव्यक्ति पछाडि प्रमुख तीन कारण रहेको बताउँछन् । अहिले प्रचण्डले व्यक्त गरेको चिन्ताको पहिलो कारण कांग्रेसभित्र देखिएको खटपट रहेको उनको तर्क छ ।
कांग्रेसका तीन गुडमध्ये कुनै गुटले सबैलाई अफ्ठ्यारोमा पार्न सक्ने उनको संकेत छ । उनले भने, ‘हामीले कांग्रेससँग आलोपालोको कुरा गरेका छौँ । तर अहिले त्यसको सहमति गर्ने (शेरबहादुर) देउवाजी आफैँ पार्टीभित्र सहज अवस्थामा नभएको पनि स्थिति हो ।’
दोस्रो कारण माओवादीले अघि सारेको सुशासन र भ्रष्ट्राचार विरोधी अभियानका हो । खनालकाअनुसार त्यसमा मुछिका अन्य पार्टीका प्रभावशाली नेताहरू कारण आफ्नो सरकारको स्थायित्वबारे प्रचण्डले पार्टी पङ्क्तिभित्र चिन्ता व्यक्त गर्ने गरेका छन् । ‘उहाँले भ्रष्टाचार हटाउने र सुशासन कायम गर्ने अभियानको सुरुआत त गर्नुभयो । तर अलि कमजोर पार्टीले यो कुरा उठाउने अनि अरू ठूला दुई वटा पार्टी सरकारमा रहेका समयका विषय बाहिर आउने हुँदा उहाँलाई दवाब महसुस भएको छ,’ खनालले भने ।
खनालका अनुसार तेस्रो चिन्ता अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्ने पक्षमा उभिएपछि प्रचण्डले आफूमाथि भू-राजनीतिक दवाव बढेको महसुस गरेका छन् ।
प्रचण्डको चीन भ्रमणमा भएका सहमतिबारे थप छलफलका लागि चीनले उच्च पदस्थ नेताहरूको सट्टा तिब्बत हेर्ने सेक्रेटरीलाई पठाएको विषयलाई कतिपय कूटनीतिका जानकारहरूले उनलाई चीनले कम महत्त्व दिएको विषयमा रूपमा अर्थ्याएका थिए । ‘ठूलो चासोका बीच हामीले जसरी एमसीसी पारित गर्यौँ त्यसले उत्तरलाई झस्काएको छ,’ खनालले भने, ‘दक्षिण पनि अमेरिकासँग त्यस्तो धेरै निकट होइन नि । त्यसैले उ पनि यसमा खुसी छैन जस्तो लागिरहेको छ ।’
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रचण्डले आफूलाई सरकारबाट हट्न दवाब आएर त्यस्तो अभिव्यक्ति नदिएको दाबी गरे । ‘गठबन्धनमा कुनै गम्भीर परिस्थिति वा असमझदारी आएर उहाँले त्यसो भनेको जस्तो हामीलाई पनि लाग्दैन,’ उनले भने , ‘अहिले गठबन्धनमा त्यस्तो स्थिति पनि छैन ।
यद्यपि संसद्मा कम सिट सङ्ख्या भएको माओवादीलाई सरकारको नेतृत्व गुम्ने आशङ्का सधैँ भइरहन्छ । ‘हामी कम सिट भएको तेस्रो पार्टी सरकारको नेतृत्वमा छौँ । ठूला पार्टीहरूलाई यो मन पर्ने कुरै भएन,’ माओवादीका एक शीर्ष नेताले भने ।









कुनै काम सुरु गरे पछि त्यो काम पुरा गर्नु पर्छ।
तर अहिले त्यस प्रकार भइरहेको छैन।निरासा र
अभाव भएको महसुश हुनु पनि यसका कारण
हुन।