कांग्रेस महासमिति बैठक फेरि सर्यो

काठमाडौं । नेपाली काँग्रेसको महासमिति बैठक फेरि सरेको छ ।
मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।
बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने काँग्रेस नेता मिनबहादुर विश्वकर्माले बताए । उनले यसअघि मंसिरको १३—१५ सम्म बैठक बस्ने भनेपनि सफल नभएको र आईतवार बसेको केन्द्रिय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको बताए ।
उनले अब राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट बैठक बस्ने बताए ।
उनले भने– ‘पहिला हामीले महासमितिको बैठक मंसिरको १३—१५ भन्यौँ । विभिन्न कारणले केही दिन धकेलियो । कार्य सम्पादन समितिको बैठकबाट मंसिर २९ बाट पुसको २ गतेसम्म गर्ने भन्यौँ । तर तिथि मिति हेर्दा फेरि पनि बदल्नु परेको हो । अब पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते ललितपुरको गोदावरीस्थित हलमा तोकेका छौँ ।’
नेता विश्वकर्माले महासमितिको बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने बताए ।








