दुई महिनाभित्र संसद भवनको निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणाधिन संघीय संसदको भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।

मंगलवार शहरी विकास मन्त्रालयले संसद भवनभित्र प्रयोग गरिने प्रविधिहरुको सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीय संसदको मुख्य दुईवटा भवनहरु दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

आफ्नो चासो संसदको आगामी अधिवेशन नयाँ संसद भवनबाट चलाउने रहेको उल्लेख गर्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका मुख्य बैठक कक्षमा आवश्यक प्रविधिहरु दुई महिनाभित्र जडान गरिसक्न आग्रह गरे ।

उनले सबै भवनहरुको निर्माण सम्पन्न नभएपनि बैठक बस्ने दुईवटा बैठक कक्षको भने प्राविधिक रुपमा सबै काम सक्नेगरी तयारी गर्न अनुरोध गरे ।

त्यसैगरी उनले संसद भवनमा जडान गरिने प्रविधिहरुको बारेमा प्राविधिकहरुले जडान गर्दादेखि नै ज्ञान लिनुपर्ने बताए ।

उनले भविष्यमा आइपर्न सक्ने प्राविधिक समस्याहरुको बारेमा प्राविधिकहरुले अहिलेदेखि नै ज्ञान हासिल गर्नुपर्नेमा जोड दिए ।

उनले भने – ‘प्राविधिक पक्षमा के–के प्रविधिहरु आएका छन्, के प्रविधि हाम्रो लागि प्रयोग हुन्छ, हामीसँग भएको प्रविधि र तपाईहरुसँग भएको प्रविधिको विषयमा छलफल गर्ने र हाम्रा आवश्यकताहरु त्यो इडिभाइसमा कसरी राख्न सकिन्छ यि आदि जस्ता कुराहरुमा घनिभुत ढंगले छलफल गरेर निष्कर्षमा पु¥याउने व्यवस्था गर्नैपर्छ । प्रयोग गर्ने हामीले हो । हाम्रा प्राविधिकहरुले अहिले भइरहेको चिजहरु कहाँ–कहाँ के–के छ भन्ने आवश्यक अध्ययन गरेर फाइनल गर्नुपर्ने हुन्छ । सामग्रीहरुको खरिद, व्यवस्थापन तथा सञ्चालनदेखि लिएर हरेक कुरामा आउने अप्ठ्याराहरुको बारेमा, सिटहरु प्लानिङ गर्ने कुरामा समेत अहिले देखिनै हाम्रो टिमले हेर्ने प्रवन्ध गर्नैपर्छ । मेरो कन्सर्न के हो भने हामीले कम्तिमा पनि सबै भवनहरु नसकेपनि मुख्य भवनहरुलाई सकेर राष्ट्रिय सभा र प्रतिनिधि सभाका मेन हलहरुमा यि इक्वुइपमेन्ट, डिभाइसहरु फिट गरेर कामहरु गर्ने भनेको दुई महिनाभित्र गर्न सकिन्छ कि सकिँदैन ? यो हिसाबले भौतिक हिसाबबाट ? अब हामी दुई महिना पछाडी हिउँदे सत्र त्यहाँ चलाउन चाहन्छौँ । हाम्रो तार्गेट भनेको त्यो हो । त्यो कुरा गर्नेगरी तपाईहरुको तयारी, सबै कुराको फाइनल हुन सक्छ कि सक्दैन ?’

सहरी विकासमन्त्री सीता गुरूङले संघीय संसद भवनमा नयाँ प्रविधिको जडान गरिने बताइन् ।

उनले भोलिको विश्वसँग तुलना गरेर नयाँ प्रविधिहरुलाई प्राथमिकता दिएर जडान गरिने बताइन् । उनले बजेटको सिमिततालाई ख्याल गर्दै सकेसम्म राम्रा प्रविधिहरुको प्रयोग गरिने बताइन् ।

उनले भनिन् – ‘नयाँ प्रविधिको विकास भएको छ । तत्कालको लागि जेनतेन जे हुन्छ, गरौँ भन्दापनि लङटर्म भोलिको लागि विश्वसँग तुलना गरेर जानसक्ने प्रविधिहरुलाई सकेसम्म प्राथमिकतामा राखेर जाऔँ । राम्रो गरौँ भन्ने हिसाबले हामी छलफल गरिरहेका छौँ । राम्रो के छ विश्वमा ? हाम्रो रकमले कतिलाई मापन गर्न सक्छ ? त्यसैलाई आधार गरेर राम्रो बनाउ भन्ने उद्देश्य छ ।’

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख मचाकाजी महर्जनले संघीय संसद भवन निर्माणको काममा ७५ प्रतिशत प्रगति हासिल गरिसकिएको बताए ।

उनले १२ वटा भवनहरुमध्ये ७ वटा भवनहरुको छाना सम्मको काम सम्पन्न भइसकेको जानकारी दिए ।

बाँकी ४ वटा भवनमा ट्रस्ट निर्माण लगायत छानाको काम अगाडी बढिराखेको उनले बताए । त्यसैगरी पर्खाल निर्माणको ९५ प्रतिशत काम सम्पन्न भएको उनको भनाई छ ।

उनले अब भवन भित्रको इन्टेरियरको काम शुरु हुने बताए । उनले भवन निर्माण भइरहेको कारण एसीको काम ११ प्रतिशत मात्रै भएको जानकारी दिए ।

आयोजना प्रमुख महर्जनले फर्निचरका लागि नमूना तयार भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + three =