कोशी प्रदेशका मुख्यमन्त्रीको कदम राजनीतिक बेइमानी, धोका हो : पर्शुराम बस्नेत

बिराटनगर । नेकपा एमालेका नेता पर्शुराम बस्नेतले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले अपरिपक्व राजनीतिक व्यवहार देखाएको बताएका छन् ।

मंगलबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै बस्नेतले मुख्यमन्त्री बन्नका लागी मात्र नेकपा एमालेको साथ लिएको र अहिले एमाले सिङ्गो पार्टीलाई ढोका दिएको बताएका हुन् ।

बस्नेत लेख्छन्, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले देखाउनु भएको अपरिपक्व राजनीतिक व्यवहारले अनेक आशंका उब्जिएका छन् । मुख्यमन्त्री बन्नका लागि उहाँले हाम्रो गौरवशाली पार्टी नेकपा एमालेको साथ मात्र लिनु भएन एमालेसँग आफू नछुट्टिने बाचा गर्नुभयो। तर अहिलेको कदमले उहाँको त्यो वाचा गलत प्रमाणित भइसकेको छ । सीधा भाषामा भन्नुपर्दा उहाँको यो कदम राजनैतिक बेइमानी हो, धोका हो ।

सबैभन्दा पहिले त उहाँले शेखर कोइरालासँग साँठगाँठ बनाएर आफ्नै पार्टी नेपाली काङ्ग्रेसलाई धोका दिनुभयो । त्यसपछि सत्तामा पुग्नका लागि नेकपा एमालेको साथ लिनुभयो र अहिले नेकपा एमालेलाई धोका दिनुभयो । राजनीतिमा यति धेरै बेइमानी, अविश्वास र जालसाजी गरेपछि केदार कार्कीका कारण प्रश्न उठेको छ–

के अब धोका दिने पालो यो प्रदेशका जनता र उहाँको निर्वाचन क्षेत्रका जनतालाई हो ?

राजनीति भनेको पदमा पुग्नु मात्र होइन, यो त विशिष्ट संस्कार सहित जनताको विश्वास जितेर समाजलाई प्रगतिशील बाटोमा डोर्‍याउने र विकासमा आशाका किरण देखाएर समृद्ध समाजलाई समुन्नत र समृद्ध बनाउने हो। राजनीति र राजनैतिक नेतृत्वप्रतिका जनताका निराशालाई तोड्ने हो। तर केही दिन अघिका आफ्ना अठोट, बाचा र समझदारी बिर्सिएर पदलोलुप्ता कारण गम्भीर प्रश्न खडा भएका छन्-

कुर्सी मोहमा मात्र डुब्ने मानिसले कसरी समाजको सर्वाङ्गीण विकासमा योगदान दिन सक्दछन् ?
पदमा जानका लागि आफ्नै पार्टी, आफ्नै नेता, साथ लिएको पार्टी र आफ्ना शुभ चिन्तककै साथमाथि धोका दिने तपाईँले जनतामाथि धोकाको शृङ्खला सुरु गरिसक्नु भएकै हो?

के राजनीतिमा यति धेरै जालझेल र धोकाधडी गर्नु पर्ने हो ?
यी र यी जस्ता राजनीतिक गतिविधिका कारण पछिल्लो समय नेपाली युवाहरूमा राजनीतिप्रति बढेको वितृष्णालाई अझै बल पुग्ने महसुस भइरहेको छ। त्यसैले आज यो समाज, कोशी प्रदेश र विराटनगरवासीको प्रश्न छ–

राजनीतिको यस्तो चरम दुरुपयोग गर्नेमाथि हामीले कसरी विश्वास गर्ने ?
व्यक्तिको मूल्याङ्कन गुण र दोषका आधारमा गरिनुपर्छ र गरिन्छ नै । मलाइ मोरङ ६ “ख” का मतदाताले खबरदारी गर्ने मत प्रदान गरेको हुनाले सधैँ जनताको पक्षमा खबरदारी गरिरहनेछु।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *