भूकम्प प्रभावितलाई आइएमई ग्रुपले एक करोड ५० लाख दिने

काठमाडौं । जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूलाई आइएमई ग्रुपले १ करोड ५० लाख रूपैयाँ नगद सहयोग गर्ने भएको छ ।
ग्लोबल आइएमई बैंक, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लगायत आइएमई ग्रुपद्वारा प्रवर्द्धिधत कम्पनीहरू तथा आइएमई फाउन्डेसनमार्फत् भूकम्प प्रभावितहरूको लागि १ करोड ५० लाख रूपैयाँ सहयोग गरिने भएको हो ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने भएको हो ।
शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र बिन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
सो क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने छन् ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महाभूकम्प तथा महामारिका समयमा उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यस पटक पनि उद्धार र राहतमा हर सम्भव सहयोगका लागि जुटेको बताए ।








