विपद् व्यवस्थापन प्राधिकरण प्रधानमन्त्रीको मातहतमा ल्याउनुपर्छ : डा. तुलाधर

काठमाडौं । विपद् व्यवस्थापन विज्ञ डा. गंगालाल तुलाधरले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाइ प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउनुपर्ने बताएका छन् ।
आईतवार न्युज एजेन्सी नेपालले काठमाडौंमा गरेको संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण र जलवायु परिवर्तनको सवाल सम्बन्धि कार्यक्रममा बोल्दै डा.तुलाधरले यसलाई प्रधानमन्त्री कार्यालयको मातहतमा लगेर प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए ।
उनले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण गृह मन्त्रालय मातहतमा हुँदा प्रभावकारी रुपमा काम गर्न नसकेको बताए ।
उनले अन्तर्राष्ट्रिय अभ्यासमा पनि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण प्रधानमन्त्रीकै मातहतमा रहने व्यवस्था रहेको बताए ।
उनले भने – ‘यससँग सम्बन्धित कानून छ, त्यसैले प्राधिकरण छ, त्यसैले आज यसको बैठक बस्नसक्यो । आज प्रधानमन्त्रीको कार्यालयमा बैठक बस्यो यसबाट केही न केही सन्देश गएको छ अब प्राधिकरणलाई प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउनु जरुरी रहेको छ । अन्तर्राष्ट्रिय अभ्यासमा पनि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण प्रधानमन्त्रीकै मातहतमा रहने व्यवस्था रहेको छ ।’
उनले जलवायु परिवर्तनजन्य जोखिम नेपालको कारण नआएको भएपनि त्यसको परिणाम भने भोग्नुपर्ने अवस्था आएकाले यसको सम्बन्धमा कोप २८ मा सशक्त ढंगले कुरा उठाउनुपर्ने बताए ।








