हमास आक्रमणमा ज्यान गुमाएका आनन्द साहको सपहीमा अन्त्येष्टि

काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको शव उनको पुर्ख्यौली घर लगिएको छ । हमासको आक्रमणमा परी मृत्यु भएको २७ दिनपछि उनको शव जनकपुर लगिएको हो ।
नेपाली सेनाको विमानबाट उनको शव शनिवार साढे ४ बजे जनकपुरधाम विमानस्थलमा लगिएको थियो । विमानस्थलबाट नेपाली सेनाकै टोलीले आनन्दको शव सपहीसम्म पु-याएको थियो । आनन्दको शव सपही पुग्दा पूरै गाउँ भावविह्वल बनेको थियो । उनको शवको शनिवार नै दाह संस्कार गरिएको हो । आनन्दको शवलाई उनको काकाको छोरा बेचन साहले दागवती दिएका थिए ।
आनन्दको मृत्यु गत असोज २१ गते इजरायलमा हमास चरमपन्थी समूहको आक्रमणमा परी मृत्यु भएको थियो । जनकपुरधामस्थित एन्जल्स बोर्डिङ्ग स्कुलबाट एसईई उत्तिर्ण गरेका उनी पूर्ण छात्रवृत्तिमा बिएससी एग्रिकल्चर गरेका थिए । सुदूरपश्चिमको कृषि विश्वविद्यालयबाट ५० नेपाली विद्यार्थीलाई कृषि क्षेत्रमै पोख्त बनाउनका लागि १० महिने प्रशिक्षणका लागि इजरायल पठाइएको थियो ।








