पाँचखालमा विद्युत् सर्टभई आगलागी हुँदा ९ पसल जले, करोड बढीको क्षति

काठमाडौँ । काभ्रेको पाँचखालमा विद्युत् सर्ट भएर आगलागी हुँदा ९ पसल जलेका छन् । शुक्रबार बिहान करिब सवा ६ बजे पाँचखाल नगरपालिका ४ समाजकल्याण चोकमा रहेको उद्धवप्रसाद तिमल्सिनाको घरको सटरमा विद्युत् सर्टभई अचानक आगलागी सुरु भएको थियो ।

आगलागीमा परेर तिमल्सिनाको घरमा रहेका ४ वटा कपडा पसल, ३ वटा होटल, एउटा मोबाइल पसल र एउटा मासु पसल जलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार आगलागीमा परेर चारवटा कपडा पसल भने पूर्णरुपमा जलेर नष्ट भएका छन् भने होटल, मोबाइल र मासु पसलमा आंशिक क्षति भएको छ ।

दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले झण्डै एक घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छन् । आगलागीबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । क्षतिको यकिन विवरण संकलनको काम भइरहेको डीएसपी श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *