नेपालमा उत्पादित सुपारी विश्वबजारमा निर्यात गर्नसक्ने वातावरण बनाउन सरकारलाई निर्देशन

काठमाडौँ । नेपालमा उत्पादित सुपारी उत्पत्तीको प्रमाणपत्र जारी गर्न ल्याब टेस्ट लगायतको व्यवस्था गरी विश्वबजारमा निर्यात गर्नसक्ने वातावरण बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

बुधवार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समिति सभापति अब्दुल खानले नेपालमा उत्पादन भएका सुपारी उत्पत्तीको प्रमाणपत्र जारी गर्न ल्याब टेस्टको व्यवस्था गरी नेपाली उत्पादन विश्वबजारमा निर्यात गर्न सक्ने वातावरण मिलाउन सरकारलाई निर्देशन दिए ।

उनले सुपारी खेतीतर्फ किसानहरूको आकर्षण बढ्दै गएको भन्दै सरकारी निकायहरूबाट सुपारी खेतीलाई अपेक्षित रूपमा प्रवर्धन गर्ने कार्य नपाइएकाले सरकारले आगामी १६ औँ योजना तर्जुमा गर्दा सुपारी खेतीलाई प्रवर्धन गर्नेतर्फ नीतिगत व्यवस्था गर्न पनि निर्देशन दिए ।

उनले सुपारी खेतीलाई कृषिजन्य वस्तुको रूपमा सूचिकृत गर्ने र सरकारले कृषि उपजमा उपलब्ध गराउने अनुदान रकम वा सुविधा सहुलियतपूर्ण कर्जाको व्यवस्था सुपारी किसानले पनि पाउने व्यवस्था गर्न निर्देशन दिए ।

उनले सुपारी प्रशोधनको लागि आवश्यक यान्त्रिक उपकरणको प्रयोग गरी गुणस्तरीय सुपारी तयार गर्न सहयोग पुग्ने भएकाले सुपारी किसान समूह र सुपारी सहकारी समूहलाई अनुदानको व्यवस्था सरकारले मिलाउनुपर्ने बताए ।

उनले भने ‘सुपारी खेतीतर्फ किसानहरूको आकर्षण बढिरहेको छ । सरकारी निकायहरूबाट सुपारी खेतीलाई अपेक्षित रूपमा प्रवर्धन गर्ने कार्य नपाइएकाले सरकारले आगामी १६ औँ योजना तर्जुमा गर्दा सुपारी खेतीलाई प्रवर्धन गर्नेतर्फ नीतिगत व्यवस्था गर्न कृषि पशुपंक्षी मन्त्रालयलाई निर्देशन दिन्छौँ । सुपारी खेतीलाई कृषिजन्य वस्तुको रूपमा सूचिकृत गर्ने र सरकारले कृषि उपजमा उपलब्ध गराउने अनुदान रकम वा सुविधा सहुलियतपूर्ण कर्जाको व्यवस्था सुपारी किसानले पनि पाउने व्यवस्था गर्न,सुपारी प्रशोधनको लागि आवश्यक यान्त्रिक उपकरणको प्रयोग गरी गुणस्तरीय सुपारी तयार गर्न सहयोग पुग्ने भएकाले सुपारी किसान समूह र सुपारी सहकारी समूहलाई अनुदानको व्यवस्था मिलाउनु,सुपारी किसानहरूलाई सुपारीको उन्नत बीउ,मल खाद,प्रविधि र जनशक्ति लगायत सुपारी उत्पादनलाई अभिवृद्धि गरी कार्यक्रम सञ्चालन गराउने,सुपारी उत्पादनको एकीकृत तथ्याङ्क सङ्कलन गर्ने कार्य किसान प्रतिनिधिहरूको संलग्नतामा गर्ने,नेपालमा उत्पादन भएका कृषिजन्य वस्तुहरूको उत्पतिको प्रमाणपत्र जारी गर्न ल्याब टेस्ट लगायतको व्यवस्था गरी नेपाली उत्पादन विश्वबजारमा निर्यात गर्नसक्ने वातावरण नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास र उद्योग मन्त्रालयलाई निर्देशन गर्दछ । नेपालमा उत्पादन भई विदेशमा निकासी हुने सुपारीको उत्पतिको प्रमाणपत्र जारी गर्ने व्यवस्था कार्यविधि २०६८लाई परिमार्जन गर्न निर्देशन दिने ।’

उनले सुपारी किसानहरूलाई सुपारीको उन्नत बीउ, मल खाद, प्रविधि र जनशक्ति लगायत सुपारी उत्पादनलाई अभिवृद्धि गरी कार्यक्रम सञ्चालन गराउन पनि निर्देशन दिए । उनले सुपारी उत्पादनको एकीकृत तथ्याङ्क सङ्कलन गर्ने कार्य किसान प्रतिनिधिहरूको संलग्नतामा गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =