साढे ९ केजी सुन बरामद भएको थियो, अहिले २ किलो होला : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशमा राजनीतिक रूपमैडकैती भइरहेको आरोप लगाएका छन् ।

भन्सार र एयरपोर्टबाट कर छलेर तस्करी भइरहेको र सरकारले कारबाही गर्न नसकेको उनको आरोप छ। उनले एयरपोर्टबाट साढे ९ केजी सुन बरामद भएको तर अहिले २ किलो मात्र बाँकी हुनसक्ने बताएका हुन् ।

उनले भने ‘भन्सारमा कर उठ्दैन, तस्करी मात्रै हुन्छ । एयरपोर्टबाट क्विन्टल सुन बरामद भयो, ६० किलोमा झर्‍यो’ अघि भने, ‘डकैती भइरहेको छ देशमा । साढे ९ केजी सुन बरामद भएको थियो, अहिले २ किलो होला । त्यहीँबाट खाए, सिद्ध्याए ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कहिल्यै नझुक्ने पनि बताएका छन् ।

‘मैले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ,’ उनले प्रचण्डप्रति ईंगित गर्दै भने, ‘काटिएर जाओस् यो शिर, त्यस्ताहरूसँग शिर झुक्दैन । भोकै मर्छ, बाघ घाँसका त्यान्द्रा टिप्न जाँदैन ।’

ओलीले देश टाट पल्टिने अवस्थामा पुगेको बताए । ‘विगत दुई वर्षमा देशको अवस्था गम्भीर छ । बनाउन धेरै समय लाग्छ, ध्वस्त बनाउन समय नलाग्ने रहेछ । आर्थिक रूपमा टाट पल्टिने अवस्था छ’, उनी भन्छन्, ‘विदेशमा गएका नानीबाबुले पठाएका रेमिट्यान्सले मात्रै देश चलेको छ । अन्त डामाडोल छ ।’

उनले एमालेलाई बदनाम गराउन आफूमाथि अनर्गल आरोप लगाएको बताए । ‘कहिले कम्बोडियामा लगानी गरेको भन्छन् । कहिले ठाउँ ठाउँमा जग्गा र महल छ भन्छन्,’ उनले भने, ‘यो सबै एमाले सिध्याउन गरिएको दुष्प्रचार हो । कम्बोडियामा मैले टेलिकममा लगानी गरेको रहेछु भने पत्ता लगाउनुस्, १ हजार थपेर तपाईँलाई नै दिन्छु ।’

एमाले गण्डकीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतले कम्युनिस्ट पार्टी फुटाएर दक्षिणपन्थीको करेसामा बास माग्न पुगेको बताए ।

‘देशी विदेशी शक्ति मिलेर मलाई पार्टीबाट निष्कासन गरे । २ तिहाइको पार्टी फुटाउने, सरकार ढाल्ने उनीहरूको गन्तव्य स्पष्ट भयो,’ उनले भने, ‘कम्युनिस्ट आन्दोलन सिध्यायौं दक्षिणपन्थीको करेसामा बास माग्न जानुभयो ।’

आफ्नो कार्यकालमा नेपालको उल्लेखनीय प्रगति भएको दाबी गर्दै ओलीले अहिले डामाडोल भएको बताए ।

‘मेरो कार्यकालमा दक्षिण एसियाको उदीयमान अर्थतन्त्र भएको देश भनेर नेपालको प्रशंसा गरिएको थियो । विश्वमा तीव्र विकास गर्ने १० देश मध्ये एक हो भनेर प्रचार भएको थियो’ ओलीले भने, ‘अहिले नेपाल दक्षिण एसियाको सबैभन्दा गरिब राष्ट्र बनेको छ । यो गठबन्धनको उपलब्धि हो ।’ उनले अझै २० वर्ष राजनीति गरेर विरोधीलाई तह लगाउने चेतावनी समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =