राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ पुनः गृह मन्त्रालयमा पठाइनु हुँदैन : सांसद रायमाझी

काठमाडौँ । राष्ट्रिय सभा सदस्य एवं नेपाली काँग्रेसका नेता रमेशजंग रायमाझीले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मन्त्रीपरिषद्मा नभई सिधै संसदमा पेस हुनुपर्ने बताएका छन् ।

सोमवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ गृह मन्त्रालयले पहिल्यै ल्याएको भए स्वागतयोग्य हुने भएपनि अब भने गृह मन्त्रालयमा विधेयक पुर्याएर संसदमा लैजानु नहुने बताए ।

उनले पुनः गृहमन्त्रालयमा विधेयक पुग्नु भनेको पास नगर्ने नियत भएको बताए ।

उनले भने ‘अहिले यो विधेयक ल्याउनुपर्ने जरुरी भयो । गृह मन्त्रालयले पहिल्यै यो कुरा सोचेर ल्याइदिएको भए हामीले यत्रो तीन महिना छलफल गर्नुपर्ने थिएन । गृह मन्त्रालयले चाहना देखाएर क्याबिनेटबाट आफैँ तयार गरेर ल्याएको मान्थ्यौँ । तर अब हामी फेरि यो विधेयक क्याबिनेटबाट लैजाने कुरामा हामी तयार छैनौँ । किनभने यो संसदको सम्पत्ति हो । सरोकारवालासँग पहिला छलफल नगर्ने अनि संसदमा पेस गरेपछि बाहिरको सरोकारवालासँग छलफल गर्ने र संसदलाई गुमराहमा राख्ने काम संसदीय मर्यादा बाहिरको हो । फेरि यही कुरा गृह मन्त्रालयमा जाने भनेको नगर्ने नियत हो ।’

त्यस्तै राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका नेता देवेन्द्र दाहालले राष्ट्रिय मर्यादाको अन्यौलता अन्त्य गर्न विधेयकको आवश्यकता महसुस गरिएको बताए । उनले सरकारी एवं सार्वजनिक पदाधिकारी र देशका लागि योगदान गरेका विशिष्ट व्यक्तिहरूको मर्यादामा र अति विशिष्ट तथा विशिष्टहरूको मर्यादामा गरिने सम्बोधन, राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग, अतिविशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने र सलामी दिने विषयहरू विधेयमा समेटिएको बताए ।

उनले भने ‘यो किन आवश्यकता पर्यो भने निम्न विषयमा रहेको व्यवस्थालाई एकीकृत गर्न र अन्यौलता अन्त्य गर्न यो विधेयकको आवश्यकता महसुस गरियो । सरकारी एवं सार्वजनिक पदाधिकारी र देशका लागि योगदान गरेका विशिष्ट व्यक्तिहरूको मर्यादामा र अति विशिष्ट तथा विशिष्टहरूको मर्यादामा गरिने सम्बोधन, राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग, अतिविशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने र सलामी दिने विषय यसमा समेटिएका छन् ।’

नेता दाहालले राष्ट्रिय मर्यादाका विषयहरूलाई एकीकृत गर्न विधेयक महसुस गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =