गुटेरेसको भ्रमणमा शान्ति प्रक्रियाको एजेण्डा प्राथमिकतामा पर्नुले शंका उब्जायो : प्रा.डा केसी

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमात्रै प्राथमिकतामा पर्नुले शंका उब्जाएको बताएका छन् ।
महासचिव गुटेरेसको नेपाल भ्रमणको सम्बन्धमा अन्तर्राष्ट्रिय सम्बन्धका जानकार प्रा.डा. खड्ग केसीले यस भ्रमणमा राष्ट्रिय स्वार्थ भन्दा दलगत स्वार्थलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।
उनले भ्रमणलाई बहुपक्षीय र राष्ट्रिय स्वार्थमा काम लाग्नेगरी अगाडी सार्नुपर्ने भए पनि त्यसो हुन नसकेको बताए । उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय नेपालको आन्तरिक मामिला भएको भन्दै यसका लागि अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नु नपर्ने बताए ।
उनले घरभित्रको मामिलालाई अन्तर्राष्ट्रियकरण गर्दा नेपाललाई फाइदा नगर्ने बताए । उनले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने कुरा अब संयुक्त राष्ट्रसङ्घको अधिकार क्षेत्रभित्र नपर्ने बताए ।
उनले भने ‘शान्ति प्रक्रिया हाम्रो आन्तरिक कुरा हो । हामी अनमिनलाई बोलायौँ । अनमिनले नसकेर हामी आफैँले गरेको हो । यतिखेर अलि रणनीतिक जस्तो पनि मैले अनुभूत गरेको छु कि संयुक्त राष्ट्रसङ्घको महासचिवले आएर हाम्रो शान्ति प्रक्रियामा टिआरसीलाई उहाँले राम्रो सन्देश दिनुभयो तीन वटा । मानव अधिकार सम्बन्धी विश्वव्यापी मान्यताहरूलाई टिआरसिमा अङ्गीकार गर्नैपर्छ । सर्वोच्च अदालतको आदेश पनि अक्षरश पालना गर्नुपर्छ । पीडितको आवाज पनि सुन्नुपर्छ । टिआरसीको कुरा संयुक्त राष्ट्रसङ्घको अधिकार क्षेत्र भित्रको कुरा होइन हाम्रो आन्तरिक मामिला हो । अर्को गिजोलिने कुरा कहाँ हुनसक्छ भने यदि राजनीतिक नेतृत्वलाई लाग्यो कि हामीलाई इन्फ्युन्स् गर्नका लागि संयुक्त राष्ट्रसङ्घको महासचिवलाई गुहारियो भन्ने । त्यो ढङ्गले राजनीतिक नेताहरूलाई रियलाइज भयो, आभास भयो भने गिजोलिन्छ । किनभने यहाँ नै समाधान खोज्ने हो । राष्ट्रसङ्घको महासचिवले आएर उहाँले राजनीतिक नेताहरूलाई भनिदेओस् कि, तपाईँहरूले यसरी, यसरी टिआरसी टुङ्ग्याउनुहोस् भनेर अरू शक्ति राष्ट्रको बेला बेलामा आउने डिप्लोम्याट जसरी भन्ने गर्नुहुन्छ नि, हाम्रो आन्तरिक मामिलामा पनि बोल्नुहुन्छ नि । त्यो ढङ्गले संयुक्त राष्ट्रसंघका महासचिव बोलेको त हामीले सुनेका छैनौँ । उहाँले बोलिदेओस् भन्ने एउटा अपेक्षा राखेर त्यो खालको आभास अर्को स्टेकहोल्डर्सलाई भयो भने, टिआरसी टुङ्ग्याउन किन हारगुहार गर्नुभयो भन्ने अभाष भयो भने गिजोलिने सम्भावना प्रवल हुनसक्छ । तर हामीले गिजोलेर फाइदा त छैन । तर प्रस्ट कुरा के हो भने यो अन्तर्राष्ट्रिय समुदायलाई गुहार्ने कुरा भन्दा पनि विश्वव्यापी मान्यताहरूलाई सकारेर घरभित्रै सहमतिको वातावरण निर्माण गर्नुपर्ने प्राथमिक विषय हो । नेपालको राष्ट्रिय स्वार्थ भन्दा पनि दलगत स्वार्थलाई प्राथमिकतामा राखेर संयुक्त राष्ट्रसङ्घमा प्रतिनिधित्व गर्ने हाम्रा कूटनीतिक संयन्त्रहरूलाई पनि, त्यो कुरालाई मात्र प्राथमिकतामा राखेर तयारी गर्न निर्देश गरिएको जस्तो मैले अनुभूत गरे । उहाँको भ्रमण नेपालमा हुँदा एउटा मात्रै एजेण्डा पस्किने कुरा रणनीतिक रूपमा शंका गर्ने ठाउँ छ । सकेसम्म हामीले यो भ्रमणलाई बहुपक्षीय, नेपालको राष्ट्रिय स्वार्थमा काम लाग्ने खालका कुराहरू अगाडी सार्ने तयारी गरिनुपर्थ्यो । हतारमा त्यो खालको नगरिएको कारणले गर्दा नै थप शंका गर्ने ठाउँहरू छ । तर संयुक्त राष्ट्रसङ्घको महासचिवलाई सम्मान गर्ने कुरामा कुनै कमी गर्नु भएन । त्यो संस्था हाम्रो अत्यन्त महत्वपूर्ण हो । तर घरभित्रको कुरालाई धेरै अन्तर्राष्ट्रियकरण गर्ने कुरालाई मलाई लाग्छ, त्यो गर्ने पक्षलाई पनि प्रकारान्तरमा वैधता खोज्ने त घरभित्रै हो । त्यति फाइदा गर्छ जस्तो लाग्दैन मलाई ।’
उनले महासचिव गुटेरेसको नेपाल भ्रमणमा तयारी अपुग भएको टिप्पणी गरे । नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा दिएको योगदानको सम्बन्धमा कुराकानी हुनुपर्नेमा त्यस्तो हुन नसकेको उनको भनाई छ । यस भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो एकल एजेन्डालाई प्रस्तुत गरेको उनले बताए ।
उनले भने ‘हतारमा कुनै निश्चित उद्देश्यका लागि मात्रै भन्ने हिसाबले हाम्रा कूटनीतिज्ञहरू, हाम्रा राजनीतिक नेतृत्वले हतारमा गरेको तयारी जस्तो अनुभूत भइरहेको छ । जति महत्वपूर्ण ढङ्गले हाम्रा एजेण्डाहरु संयुक्त राष्ट्रसङ्घमा हामीले सुरक्षा परिषद्को अस्थायी सदस्य भयौँ, अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ हामीले जस्तो भूमिका खेलिरहेका छौँ । त्यसमा हामीले के स्टेक पाउनुपर्छ भनेर गृहकार्य गरिनुपर्थ्यो त्यो बाहेक खालि वर्तमान सरकारको नेतृत्व गर्नुभएको प्रधानमन्त्रीको आफ्नो एकल एजेन्डालाई अलि बढी प्रभाव पार्ने हिसाबले प्रस्तुत गरिएको कुरा । हाम्रो कूटनीतिक संयन्त्रले पनि त्यसैमा काम गर्यो होला । राजनीतिक नेतृत्वले जस्तो निर्देशन दियो त्यस्तै काम ग¥यो होला । जसरी बहुपक्षीय कूटनीतिक नेतृत्व हामीकहाँ आयो त्यो नेतृत्वलाई जसरी हाम्रो कुरा बुझाउनुपर्थ्यो त्यो ढंगको तयारी भएको अनुभूत मलाई भएको छैन ।’
प्रा।डा। केसीले यस भ्रमणका क्रममा भूपरिवेष्टित राष्ट्रहरूले पाउनुपर्ने सामुन्द्रिक हकको सम्बन्धमा कुरा उठाउनुपर्नेमा जोड दिए । त्यस्तै नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गरेपनि नेपाली सेनालाई नेतृत्वदायी भूमिका नदिइएकोप्रति पनि नेपाली पक्षले कुरा उठाउनुपर्ने बताए ।
त्यसैगरी नेपालको सगरमाथा क्षेत्रमा जलवायु परिवर्तन सम्बन्धी अध्ययन केन्द्र बनाउनुपर्ने विषयलाई नेपालले प्रस्तावको रूपमा राख्न सकेमा महासचिव गुटेरेसको भ्रमणको विश्वव्यापी सन्देश जाने धारणा उनले व्यक्त गरे ।
उनले भने ‘हाम्रो लागि संयुक्त राष्ट्रसङ्घ अत्यन्तै महत्वपूर्ण संस्था हो । हामीले जहिल्यै पनि संयुक्त राष्ट्रसंघलाई उच्च महत्त्व दिनुपर्छ । हामीले संयुक्त राष्ट्रसंघसँग गर्ने कुराहरू चाहिँ प्रशस्तै थिए । अल्पविकसित मुलुकबाट हामी ग्राजुएट हुने सपना देखिरहेका छौँ । भूपरिवेष्टित राष्ट्रले पाउने सामुन्द्रिक हकहरूको बारेमा १९८० मा ल अफ द सी को कन्भेन्सनमा कुरा उठायौँ । त्यसपछि धेरै पछि नेपालका कुराहरू मुखरित भइरहेको अवस्था छैन । अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपालले गरेको योगदान बापत नेपाली सेनाले जति योगदान गरेको छ, त्यो योगदान बापत लिडरशिपमा हामी जहिले पनि खास अवसर पाइरहेको अवस्था छैन । त्यसमा नेपाल सरकारले, नेपालको राजनीतिक नेतृत्वले त्यो एजेण्डा उठाउनुपर्ने थियो । जलवायु परिवर्तनको एजेण्डामा पनि हाम्रो तयारी कति छ ? हामीले सगरमाथा संवादको कुरा सुरु गरेका थियौँ । सरकार परिवर्तनपछि हराएको छ । नेपाललाई जलवायु परिवर्तनको ठूलो अध्ययन सगरमाथाको छेउछाउमा विश्वलाई नै सन्देश दिने खालको एउटा केन्द्र बनाऔँ भनेर नेपालले प्रस्ताव गरेको भए यो भ्रमणको विश्वव्यापी रूपमा फरक ढंगको सन्देश जान सक्थ्यो । त्यो कुरा ओझेलमै छ ।’
उनले नेपालका लागि संयुक्त राष्ट्रसङ्घ महत्वपूर्ण संस्था रहेको उल्लेख गर्दै महासचिवको नेपाल भ्रमणलाई अत्यन्त महत्वका साथ हेर्नुपर्ने बताए । महासचिवको भ्रमणमा शंका गर्ने ठाउँहरू रहेपनि उनलाई गर्नुपर्ने सम्मानमा भने कुनै कमी हुन दिनु नहुने प्रा।डा। केसीले बताए ।








