प्रधानमन्त्री दाहालका कारण शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने काम असहज भयो : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने काममा असहज भएको बताएका छन् ।

आइतबार सङ्घीय संसद भवनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा उनले प्रधानमन्त्री दाहालले हिंसात्मक गतिविधिलाई बढवा दिने काम गरेकाले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने काम असहज बन्न गएको बताएका हुन् ।

माओवादी युद्ध सुरु भएको दिनलाई दिवसको रूपमा मनाउने प्रधानमन्त्री दाहालको कामले शान्ति प्रक्रियामा असहजता थपिएको कुरा ओलीले राष्ट्र संघका महासचिव गुटेरेससँग राखेको भेटमा सहभागी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

यता, महासचिव गुटेरेसले भने आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताएका थिए । त्यसैगरी ओलीले महासचिव गुटेरेससँग प्रतिपक्ष दलको हैसियतमा आफ्नो पार्टीले शान्ति प्रक्रियालाई छिटो टुङ्गोमा पुर्याउने काममा सक्दो सहयोग गर्ने बताएका थिए ।

बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या समाधानका लागि पनि संयुक्त राष्ट्र सङ्घबाट थप सहयोगका अपेक्षा गरिएको पनि ओलीले महासचिव गुटेरेसलाई बताउनुभएको एमाले उपमहासचिव ज्ञवालीले बताए ।

उनले भने ‘सुरुमै महासचिव महामहिमज्युले नेपालप्रतिको आफ्नो लगावका केही सन्दर्भहरू उठाउनु भयो । भुटानी शरणार्थी समस्या समाधानमा यसभन्दा अघि पनि आएको कुरा जानकारी गराउँदै खास गरेर नेपालको मौलिक ढङ्गको शान्ति प्रक्रिया, जो सफल भएको छ । त्यो कुरा नेपालले संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा गरेको असाधारण योगदान र शान्तिका प्रणेता गौतम बुद्धको थलो भएको कारणले पनि नेपालप्रति आफ्नो विशेष माया रहेको कुरा उठाउँदै उहाँले आफ्ना ३ वटा एजेन्डाहरू रहेको बताउनु भयो । खास गरेर नेपाली चाहिँ जलवायु परिवर्तनका कारण जुन पिडाहरू भोग्नु परेको छ । यो विषयलाई म नजिकबाट हेर्न चाहन्छु । र, यसलाई एउटा एजेन्डा बनाएर अगाडि बढाउन चाहन्छु भन्नु भएको छ । दोस्रो, नेपाल अल्पविकसित अवस्थाबाट ग्राजुयट हुँदै गर्दा हामी नेपालको साथमा छौँ भन्नुभयो । र, तेस्रो चाहिँ शान्ति प्रक्रिया छिटो भन्दा छिटो टुङ्गियोस् भनेर आफूले चाहेको उहाँले बताउनु भयो । हाम्रो तर्फबाट हाम्रो पार्टी अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय भनेको सङ्क्रमणकालीन अन्याय हुनु हुँदैन । त्यो चाहिँ पीडितहरूलाई ध्यान राखेर समाधान गरिनुपर्छ । हामी त्यसलाई छिटो भन्दा छिटो टुङ्ग्याउन चाहन्छौँ । तर प्रधानमन्त्रीज्यू जो हिजोको विद्रोही नेता हुनुहुन्थ्यो । आज प्रधानमन्त्री हुनुहुन्छ । उहाँले नै यी सबै विषयहरू टुङ्ग्याउन भूमिका खेल्नुपर्नेमा चाहिँ अलिकति हिंसालाई बढवा दिने खालको, हिंसालाई महिमा मण्डन गर्ने खालको उहाँका क्रियाकलापले अलिकति असहज जस्तो भएको छ । खास गरेर युद्ध सुरु भएको दिनलाई दिवसको रूपमा मान्यता दिने जुन कुराहरू भयो । यसले पीडितहरू अलिकति चिन्तामा छन् । हामीले चाहिँ शान्ति प्रक्रिया टुंग्याउँदाखेरी गम्भीर अपराधमा आम माफी हुन नहुने, यसमा हाम्रा अन्तर्राष्ट्रिय कमिटमेन्टहरुलाई पनि ध्यान दिनुपर्ने, सर्वोच्च अदालतको जुन आदेश छ, त्यो कुरालाई समेत ध्यानमा राखेर त्यो विषय छिटो भन्दा छिटो टुङ्गियोस् भन्ने चाहन्छौँ । र, प्रतिपक्षले हैसियतले हाम्रो यसमा सहयोग रहन्छ भन्नुभएको छ । जलवायु परिवर्तनको सन्दर्भमा नेपालले सकारात्मक योगदान गर्दागर्दै पनि आफूले नगरेको गल्ती भोग्न परिरहेको कुरा बताउनु भयो । र, यसमा अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा गर्नु भयो । त्यस्तै लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन सहयोगको अपेक्षा गर्नु भयो । र, संयुक्त राष्ट्र सङ्घलाई अझ बलियो, अझ प्रभावकारी भएको, खासगरी विकासशील देशहरूको एउटा बलियो अभिभावक बनेको देख्न चाहन्छौँ भन्नुभयो ।’

महासचिव गुटेरेससँग ओलीले संयुक्त राष्ट्र सङ्घलाई नेपालजस्तो विकासोन्मुख देशहरूको बलियो अभिभावकको रूपमा हेर्न चाहेको पनि बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + twelve =